यार्सा जस्तो देखिने जडिबुटी फेलापछि रिमिघा लेक प्रवेशमा रोक

तानसेन। रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा यार्सागुम्बाजस्तो देखिने जडीबुटी फेला परेको छ । स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएको हो ।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको हाे।

फेला परेको यार्सागुम्बा जस्तो जडीबुटीलाई चेकजाँच गर्न डिभिजन वन कार्यालय पाल्पासँग समन्वय गरेर प्रयोगशालामा पठाइएको छ । वन क्षेत्रमा यार्चागुम्बा प्रजातीको जडिबुटी भेटिएपछि सोको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुदाँ अर्को सूचना नभएसम्मको लागि उक्त क्षेत्रमा प्रवेश नगर्नु,नगराउनुहुन भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनाको बर्खिलाप गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आइतबार जारी प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।

रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी फेला परेको थियो ।

डिभिजन वन कार्यालयले वनका कर्मचारीलाई खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।

रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाईमा रहेको छ । घना जङ्गलले घेरिएको यस क्षेत्र रम्भादेवी मन्दिर भएको क्षेत्रमा पर्दछ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer