तिनाउमा ‘गरिबको घर वडाको भर’ अभियानः १२ विपन्न परिवारले पाए नयाँ घर

तानसेन। पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ का दुई विपन्न परिवारले यो वर्षदेखि नयाँ घरमा बस्न पाउने भएका छन् । वडा कार्यालयबाट गरिबको घर वडाको भर अभियान अन्तरगत प्रतिघर दुई लाखको सयोगमा नयाँ घर बनाइएको हो।

वडा कार्यालयले वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा आर्थिक रुपले विपन्न तिलबीर गाहा र तिलक सर्बुजाका लागि एक तले पक्की घर बनाइ दिएको वडा कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको अभियानमा हालसम्म १२ विपन्न परिवारका लागि घर बनाइएको छ । अघिल्लो सरकारले प्रति घर एक लाख पचाँस हजारको दरमा ६ वटा घर बनाइदिएको थियो । यस्तै पछिल्लो सरकारले प्रतिघर दुई लाख आर्थिक सहयोगमा ६ वटा घर बनाएर स्थानीयलाई हस्तान्तरण गरेको वडा सदस्य टंकनाथ बस्यालले बताए।

आर्थिक रुपले विपन्न र शाहरा विहिन परिवारलाई स्थानीय सरकारले साथ दिनुपर्छ भन्ने मान्यताका साथ बजेट विनियोजन गरी स्थानीय र जनप्रतिनिधिसमेतले श्रमदान गरेर घरहरु निर्माण गरिदै आएको वडा अध्यक्ष चित्र बहादुर थाापले बताए।

आम्दानीको स्रोत नभएका परिवारलाई स्थानीय सरकारले बस्नका लागि सुरक्षित बास बनाइदिएपछि बाहिर बस्नुपर्ने समस्याको अन्त्य भएकोमा निकै खुसी लागेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer