तानसेन। रिब्दीकोट गाउँपालिकाकोे १८ औं गाउँ सभा अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा चालु आर्थिक वर्षकोको प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गरे।
कार्कीले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । साथै समावेशी विकास, सुशासन, रोजगार सिर्जना, कृषि र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।
कार्यक्रममार्फत संघीय शासन प्रणालीअनुसार विकासको गतिलाई तीव्र बनाउन समन्वयात्मक योजनाहरू ल्याइएको अध्यक्ष कार्कीले बताए। “समृद्ध रिब्दीकोट निर्माणका लागि कृषि, पर्यटन र यातायातलाई प्राथमिकता दिएको अध्यक्ष कार्कीले बताए ।
गाउँपालिकाले “म बनाउँछु मेरो रिब्दीकोट“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भरता, हरित विद्यालय, निःशुल्क टिफिन, बुक फ्रि फ्राइडे, स्वास्थ्य बीमा, खुल्ला व्यायामशाला, स्मार्ट सेवा प्रणाली, डिजिटाइजेशन, तथा महिला र जेष्ठ नागरिकको सशक्तिकरणमा विशेष ध्यान दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा कृषिमा पकेट क्षेत्र घोषणा गरी व्यवसायिक उत्पादन र बजार सञ्जाल विस्तार गरिने, जैविक मलको प्रयोगलाई प्रोत्सान गर्ने, पशुपालनमा कृत्रिम गर्भाधान, रोग नियन्त्रण र नश्ल सुधार कार्यक्रम सञ्चालित गर्ने, शिक्षामा उत्कृष्ट विद्यालय प्रोत्साहन, स्थानीय पाठ्यक्रम, छात्रवृत्ति र शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने, लैंगिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने,पर्यटन प्रवद्र्धनमा ऐतिहासिक स्थलहरू जस्तै जलेश्वरधाम, छत्रदेवालय, सतनचुली, कासिकागढी, परुठा डाँडा संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनलगायतका काम गर्ने, पूर्वाधारमा नयाँ सडक स्तरोन्नति, हरियाली प्रवद्र्धन, तथा भवनमा बालमैत्री र अपांगमैत्री संरचना अनिवार्य गरिने, गाउँपालिकाले युवालाई स्वरोजगारमुखी बनाउँदै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलतामा जोड्ने योजना अघि सार्ने जस्ता विषय समावेस गरिएको छ ।
सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओमप्रसाद पोखरेल, सोमकुमार कार्की र प्रकाश रायमाझीले आफ्नो धारणा राखेका थिए । सबै वर्ग, क्षेत्र र समुदायको सहभागितामा आधारित विकासमार्फत रिब्दीकोटलाई समृद्ध बनाउने योजना सहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ ।
आगामी ९ गते सोमबार दोस्रो बैठकमा बजेट प्रस्तुत गर्नेगरी पहिलो बैठक स्थगित भएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले जानकारी दिए।





















