पाल्पा । सिलाई पेशामा संलग्न व्यवसायीहरुले अब अनिवार्य रूपमा कपडा पसलसहितको व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । सिलाई पेशाका कारण ठूलो मात्रमा युवाहरु रोजगारी र स्वरोजगार सिर्जना भएकाले यो पेशामा युवालाई टिकाई राख्न सरकारी निकायको सहयोगको जरुरी रहेको देखिएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पाल्पाको प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी महासँघका केन्द्रीय प्रथम उपाध्यक्ष राम कुमार रणपालले सिलाई व्यवसायीहरु केवल सिलाईमा मात्र सीमित नभई कपडा बिक्री, उत्पादन तथा डिजाइनसमेत समेटेर व्यवसाय विस्तार गर्नु आवश्यक रहेको बताए ।
कपडा सहितको सिलाई व्यवसायले सेवाग्राही र व्यवसायीलाई समेत फाइदा हुने प्रथम उपाध्यक्ष रणपालले बताए । उनले भने, “सिलाई पेशामा महिलाको सहभागिता अझै बढाउनुपर्छ । यस पेशाबाट पनि राम्रो आम्दानी र प्रगति सम्भव छ, तर व्यवसायलाई व्यापक बनाउनु आवश्यक छ ।”
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासँघका केन्द्रीय मानार्थ सदस्य तीर्थप्रसाद गौतमले अहिलेको युवा पुस्ता सिलाई पेशाप्रति आकर्षित नदेखिएको उल्लेख गर्दै, यस पेशाको संरक्षण र प्रवद्र्धनका लागि राज्य र निजी क्षेत्रबाट पहल आवश्यक देखिएको बताए । उनले परम्परागत सीप र ज्ञानलाई आधुनिक प्रविधिसँग जोडेर व्यवसायिकरूपमा अगाडि बढाउन सके सिलाई पेशाले नयाँ उचाइ लिन सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालले सिलाई कटाई व्यवसायीलाई आधुनिक प्रविधिको प्रयोग र सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पाल्पाका कोषाध्यक्ष बाबुराम रणपालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीको हितमा लागिपर्ने बताए । संघलाई आगामी दिन आर्थिक रुपमा थप व्यवस्थित गरी लैजाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासँघ लुम्विनीका सदस्य विष्णु गौतम, सल्लाहकार आनन्द्र बुढाप्रिती, वृद्धिमान दर्नालले परियार समाज पाल्पाका अध्यक्ष सुजन कार्की लगायतले सिलाई पेशालाई राज्यको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका सदस्य कृष्ण दर्नालको स्वागत मन्तव्यबाट सुरु भएको थियो । सो कार्यक्रममा संघका अध्यक्ष धुव्र रणपालको अध्यक्षता र सचित सन्तोष बुढाप्रितीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वार्षिक साधारसभाबाट धुव्र रणपालको अध्यक्षतामा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पाल्पाको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।





















