रामपुरमा तीन सय ८९ योजना सम्पन्न

तानसेन। पाल्पाको रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ३ सय ८९ योजना सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४ सय ३ वटा योजना समावेश गरेकामा १४ वटा योजना सम्पन्न हुन सकेनन्, जसमा ९ वटा योजनाको सम्झौता नै भएन । ५ वटा योजना सम्झौता भएर पनि काम नभएको रामपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।

ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरु भई तोकिएकै मितिमा सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष वित्तीय प्रगति पनि ८७ प्रतिशत भएको छ ।

रामपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति गरेको थियो । रामपुरले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६.३१ प्रतिशत बढी वित्तीय प्रगति गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा ८१ प्रतिशत वित्तीय प्रगति हासिल भएको हो । नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगरप्रमुख थापाले बताए ।

पटकपटकको अनुगमनले सञ्चालन भएका कार्यक्रम तथा योजना प्रभावकारी र गुणस्तरीय रहेको नगर उपप्रमुख बालकुमारी थापाले बताइन् । योजना कार्यान्वयनका लागि सहजीकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रुपमा समयमै सम्पन्न भएको दाबी नगरपालिकाको छ । नगरपालिकाले शिक्षा विकास, स्वास्थ्य सेवा, कृषि तथा पशु विकास, भौतिक पूर्वाधार तथा सहरी विकास, वातावरण, सरसफाइ एवं हरियाली तथा विपद् व्यवस्थापनका क्षेत्रमा योजना सञ्चालन थिए ।

युवा तथा खेलकुद, पर्यटन, लैंगिक समानता, सहकारी तथा रोजगार प्रवर्द्धन, नियमित मर्मत सम्हारका कार्यक्रम हुने गरेको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख ४ हजार बजेट विनियोजन गरेको थियो । जस अन्तर्गत ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैया खर्च भएको नगरप्रमुख थापाले बताए ।

पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएकामा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ यो खर्च रकम ७९.०१ प्रतिशत हो ।

चालुतर्फ नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६.४८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तीय प्रगति ९०.२२ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer