किसानलाई व्यवसायतर्फ जोड्दै ‘बगनासकाली बहुउद्देश्यीय सहकारी’

पाल्पा । बगनासकालीकी सीता भुसालले एउटा मात्रै भैँसी पालेकी थिइन् । भौँसीले दैनिक ४ देखि ५ लिटर मात्रै दुध दिन्थ्यो, त्यो पनि घरको भान्सादेखि गाँउमा बिक्रि गर्दा नुनतेल किन्न बाहेक खासै आर्थिक रुपमा सघाउ पुगेको थिएन । अझ भनौँ दुध बेचेकै पैसाले व्यवहार धान्न मुस्किल थियो । तर, पछिल्ला दिनमा भने उनको गोठमा भैंसी थपिएको छ । योसँगै उनको आर्थिक अवस्थामा  सुधार हुँदै गएको सीता सुनाउँछिन् ।

‘दुई वटा भैंसी छन्,दिनमा १० लिटर दूध निकाल्छिन्, उनी भन्छिन्,‘महिनामा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’ सोही गाँउको अमर बस्यालको पनि आजभोलि दैनिकी फेरिएको छ । दैनिक १४ लिटर दूध उत्पादन गर्छन्। महिनामा ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

पाल्पाको बगनासकाली गाउँपालिका– ८, बराङ्गदीमा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगले सीता र अमर जस्तो थुप्रै किसानलाई आत्मनिर्भर र व्यवसायीक यात्रामा अगाडी बढ्न प्रेरित गरेको स्थानीय कृषकहरु बताउँछन् । उनीहरुको अनुसार सहकारीका शेयर सदस्य किसानहरुको आर्थिक उन्नति र जीवनस्तर सुधार ल्याउन नयाँ अभियान सञ्चालन गरिरहेको छ ।

सहकारीले शेयर सदस्यहरूको आयस्रोत वृद्धि गर्न भैँसीपालन व्यवसायमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको समेत उनीहरुले जानकारी दिए । सहकारीको कार्यक्रमले दुग्ध उत्पादनलाई प्रवद्र्धन गर्दै ग्रामीण क्षेत्रका किसानहरूको आत्मनिर्भरता वृद्धि गर्ने लक्ष्य लिएको सहकारीले जनाएको छ । कृषक सीता भुसालका अनुसार सहकारी संस्थाको सदस्य भएपछि जीवन नै फेरिएको छ । उनी भन्छिन्,‘संस्थाले मलाई गोठ सुधारको लागि सहयोग दिएको छ । संस्थाले उपलब्ध गराएको घाँस काट्ने मेसिनले मेरो कामलाई छिटो र सहज बनाएको छ । ’

सहकारीको सहयोगमा एउटा मात्रै भैँसी भएको गोठमा अर्को एउटा भैँसी थप्न सफल भएको उनले सनुाइन् । अहिले व्यवस्थित विधिले काम गर्न पाउँदा उनी जस्ता गाउँका धेरै किसानहरूको जीवनस्तरमा सुधार अआएको उनले बताइन् । सहकारीदे दिएको प्राविधिक सुविधाले पनि दूध उत्पादनमा वृद्धि र सहज बनाएको उनको भनाइ छ ।

सहकारीको स्थापना कालदेखि नै हालसम्म किसानहरूलाई आत्मनिर्भर बनाउन सहकारीले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारीले किसानहरूको कृषि उत्पादन प्रणालीमा सुधार ल्याउन सहयोग गर्दै आएको छ । जसमा गोठ निर्माण, भकारो सुधार र थरी सुधार कार्यक्रम मार्फत किसानहरूलाई प्रोत्साहित गर्दै आएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले बताए ।

उनको अनुसार सहकारीले अनुदानमा भैंसी वितरण कार्यक्रमले किसानहरूको दैनिकी कर्ममा परिवर्तन ल्याएको छ । सहकारीले हालसम्म २४ वटा साना गोठहरूको निर्माण गरिसकेको छ, जसमा दुईवटा भैंसीसम्मको क्षमता रहेको छ । करिब सय जना सहकारीका शेयर सदस्यहरुले नियमित दूध उत्पादन गरीे सहकारी मार्फत आफ्नो उत्पादित दूध बिक्री गर्दै आएको अध्यक्ष भुसालले जानकारी दिए ।

किसानहरूलाई प्रोत्साहन गर्न सहकारीले ८५ ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइरहेको अध्यक्ष भुसालको भनाई छ । भुसालका अनुसार यस संस्थाले दैनिकी किसानहरूबाट साय सय देखि ४ सय ५० लिटरसम्म दुध सङ्कलन गरी, उक्त दुधलाई मेहल्धारास्थित आफ्नै डेरीबाट बजारमा वितरण गर्ने कार्य गर्दै आएको छ ।

संस्थाले उक्त प्रशोधन दूधलाई विविधिकरण गरी घिउ, पनिर, दही, कुरौनी जस्ता दुग्धजन्य उत्पादनहरू तयार पारेर बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीको अनुसार आफ्नो शेयर सदस्यको मृत्युपछि १३ औँ पुण्य तिथिमा परिवारलाई ४० लिटरसम्म दूध निःशुल्क उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

सहकारीले दुधजन्य पदार्थ मात्रै नभएर अन्य खेीमा पनि सहयोग गर्दै आएको छ । अकबरे खुर्सानी, कुरिलो लगायतका खेतीमा पनि किसानलाई प्रोत्सहानका कामहरु गर्दै आएको सहकारीले जनाएको छ । जसबाट स्थानीयले गाउँमै काम र मामको व्यवस्था मिलेको बताएका छन् । यती मात्रै होइन सहकारीमा आवद्ध भएर विभिन्न सीप तथा तालिममा सहभागी भएपछि क्षमता र सीप विकास हुनुका साथै रोजगारीका लागि गाउँ छाड्नुपर्ने बाध्यता समेत हटेको स्थानीयको भनाइ छ।

हाल यस सहकारीमा १ हजार ८ सय शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको अध्यक्ष भुसालको भनाइ छ । चारवटा सहकारी संस्था बिच एकीकरण भइ २०७६ असोज ३० गते बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer