तानसेन। पाल्पा सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा परम्परागत रोपाइँको झल्को दिने गरी रोपाइँ जात्रा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट असारे भाका र पन्चेबाजाको तालमा गीत गाउदै नाच्दै, हलगोरु, बाउसे र रोपारीसहितका मानिसहरु सडकमा उत्रिएर रोपाइँको झल्को मेटाउँदै यो जात्रा निकाल्ने गरिन्छ ।
रोपाइँ सकेपछि किसानले खुसियालीका रुपमा यो पर्व मनाउन सुरु गरेको पाइन्छ । सुरुमा नेवार समुदायबाट निकाल्न सुरु गरेको यो जात्रा पछि सबै समुदायले मनाउन थालेको जानकारहरु बताउछन् । तानसेनमा यो वर्ष देववाणी संस्कृत तथा साधारण मावि, राधाकृष्ण मन्दिर समूह धरमपानी र बेशी टोल विकास संस्था काजीपौवाले जात्रा निकालेका हुन् ।
पछिल्लो समय लोप हुने अवस्थाको जात्रा संरक्षणका लागि आफूहरुले विद्यालयबाट सिकेर जात्रामा सहभागी बनेको देववाणी स्कुलका विद्यार्थी सुवीन पाण्डेले बताए । विद्यार्थीलाई सामाजिक शिक्षामा समावेश पाठ्यक्रम अनुसार मौकिल संस्कृतिको बारेमा सिकाइएको विद्यालयले जनाएको छ ।
देढ दशक अघिसम्म सदरमुकाम तानसेनसंगै जिल्लाभर दर्जनबढी स्थानमा निस्कने रोपाइँजात्रा केही वर्षदेखि एक दुई स्थानमा मात्रै सीमित भएको छ । जात्राको मौलिकता मासिन नदिन स्थानीय सरकारले सहयोग गर्दै आएको तानसेन नगरपालिकाकाले जनाएको छ । मानोरञ्जनका साधानमा भएको विकास, युवा शक्ति गाउँमा नबस्नु र आर्थिक अभावका कारण जात्रा निकाल्न समस्या भएको स्थानीयले बताएका छन् ।
खेतमा काम गरेर थाकेका कृषकलाई मनोरञ्जन दिन निकालिने यो जात्रा अहिले संस्कृति बन्दै आएको छ । अहिले यसको महत्व बढेको भएपनि यसको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने जात्राका सहभागीले बताएका छन् ।
जात्रामा संघीय सासंदसहित जिल्लास्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।





















