पाल्पा- पाल्पामा ६४ औं नर्सिङ्ग दिवस मनाइएको छ । नेपाल नर्सिङ संघ पाल्पा शाखाको आयोजनामा पाल्पा अस्पतालका बिरामीलाई फलफूल वितरण तथा अन्तरक्रिया गरी दिवस मनाएको हो ।
“सुरक्षित र मर्यादित नर्सिङ्ग पेशा, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने मूल नाराका समथ दिवस मनाइएको थियो। दिवसको अवसरमा भएको आयोजित अन्तरक्रियामा नर्स र नर्सिङ पेशाको विषयमा छलफल गरिएको थियो ।
नर्सिङ्ग पेशालाई मर्यादित बनाउन र नर्सहरुले पनि मानवीय समवेदना, स्वास्थ्य हेरचाह लगायतका कुरामा ध्यान दिएर बिरामीको सेवामा खट्नुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए ।
कार्यक्रममा तानसेन नर्सिङ्ग स्कुलकी प्रमुख डा. सकुन्तला थान्जुले दिवसको नारा अनुरुप नर्सिङग पेशालाई मर्यादित बनाएर सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताइन् । उनले पेशामा रहेका समस्या र पछिल्लो समय देखिएको दक्ष जनशक्तिको पलायन रोक्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिइन् । थोरै तलवमा धेरै काम गर्नुपर्ने हुँदा नर्सहरु मानसिक र आर्थिक रुपमा सुरक्षित गराउन सबै निकायले पहल गर्नुपर्ने छलफलका सहभागीले बताएका थिए ।
कार्यक्रममा संघकी अध्यक्ष लक्ष्मी जिसीले सम्मानित रुपले पेशालाई अघि बढाउन आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद् भएको बताइन् । उनले सुरक्षित र मर्यादित रुपले काम गर्न पाएमात्रै सेवा गुणस्तरीय हुने बताउँदै नर्सहरु पलायन हुने अवस्थाको कारण खोजी समाधानतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पाल्पा अस्पतालका डा. सौरभ थापाले मानसिक, सामाजिक, आर्थिक सबै हिसाबले नर्सहरु सुरक्षित हुनुपर्ने र सबै क्षेत्रबाट सुरक्षित भएपछि मात्रै गुणस्तरीय सेवा प्रवाह हुने बताए । उनले अस्तपालमा सबैभन्दा मूख्य भूमिकामा रहने नर्सहरुलाई सुरक्षित र मर्यादित रुपले पेशामा टिकाउनु आवश्यक रहेको औल्याए ।
कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थामा नर्सिङ्ग पेशामा आवद्ध रहेर सेवा प्रदान गरेका मनकुमारी हेम्चुरी, सिता नेपाललगतयतले दिवसको महत्व र आजको अवस्थामा नर्सिङ पेशाप्रतिको दृश्टीकोणबारे भनाइ राखेका थिए । कार्यक्रम संघकी सदस्य शान्ति भण्डारीको स्वागत, संघका सचिव सविना पाण्डेय न्यौपाने संचालनमा सम्पन्न भएको हो।





















