अहिलेकाे जनलहरले नेकपाको विजय सुनिश्चितः सोमप्रसाद पाण्डे

पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रैनादेवी छहरा गाउँ समितिको विस्तारित बैठक सम्पन्न भएको छ। शुक्रबार सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित विषयलाई प्राथमिकता दिइएको बताइएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपाका नेता तथा पाल्पा क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले अहिले देखिएको जनलहरले नेकपाको विजय सुनिश्चित भएको दावी गरे ।

उनले विगतका निर्वाचनको तुलनामा जनताले नेपाली कांग्रेस र नेकपा एमालेभन्दा नेकपामाथि बढी विश्वास गरेको बताए । पूर्व मन्त्री समेत रहेका उम्मेदवार पाण्डेले यो निर्वाचन सामान्य चुनाव नभई मुलुकको भविष्यसँग जोडिएको निर्णायक लडाइँ भएको बताए।

उनले भने, -“यो देशलाई संकटबाट मुक्त गर्न यो निर्वाचन सफल बनाउनै पर्छ। अहिलेको चुनावमा हाम्रो जित सुनिश्चित रहेको छ। त्यसका लागि कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने छ।”

नेता पाण्डेयले अहिले देश र जनताको भावना अनुसार नेकपाको जित आवश्यक रहेको बताउँदै पाल्पाको हकमा सबै पक्षबाट देखिएको उत्साहले आफ्नो जित सुुनिश्चित रहेको दावी गरे।

भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक यादव बहादुर रायमाझीले यसपटकको निर्वाचन नेकपाको पक्षमा रहेको दाबी गरे उनले भने “यो निर्वाचन मतको लडाइँ हो। हामी सबै एकजुट भएर लाग्नुपर्छ। जनताको उत्साहले हाम्रो विजय सुनिश्चित भएको छ।”

यस्तै, नेकपाका नेता राजेन्द्र विश्वकर्मा र कमल रायमाझीले तारा चिन्हलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गर्दै “देश जिताउन तारा चिन्हमा मतदान गर्नुको विकल्प छैन” भनी आह्वान गरे। बैठक पदम सोमैको अध्यक्षता र प्रदीप प्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया