तानसेन। ४४ औं मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै दिवसको अवसरमा भोलि बिदा दिएका हो ।
जिल्लाका मथागढी गाउँपालिकाले आइतबार, निस्दी, पूर्वखोला, बगनासकाली र तिनाउ गाउँपालिकाले सोमबार सूचना निकालेर बिदा दिने जनाएका हुन् । यस्तै रामपुर र तानसेन नगरपालिका तथा रम्भा गाउँपालिकाले मङ्गलबार, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले बुधबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिएको जनाएका छन् ।
स्थानीय तहहरूले पालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जानकारी दिएको छ ।
मगर समुदायको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा कुल दुई लाख ४५ हजार २७ जनसङ्ख्या मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर जातिको जनसंख्या रहेका छन् ।





















