तानसेन। नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । उम्मेद्वार आचार्यले माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा प्रतिबद्धता गरेका हुन् ।
प्रतिबद्धता सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले अन्य राजनितिक दलले जनता सामु गरेको प्रतिबद्धता पनि कार्यान्वय गर्ने बताए। आफू नै विजयी हुने दावी गर्दै आचार्यले सबैले गरेका प्रतिबद्धता आफूले कार्यान्वय गर्ने दावी गरे ।
उम्मेदवार आचार्यले प्रभावित क्षेत्रका जनताको सहमती र स्विकृती वेगेर कालीगण्डकी डाईभर्सनको काम हुन नसक्ने बताए। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन पाल्पा क्षेत्र नं. १ को भौतिक र मानवीय विकासका योजनाहरू सार्वजनिक गरेको बताएका छन् । कालीगण्डकी करिडोरको बाकी रहेको निर्माणलाई द्रुत गतिमा सम्पन्न गर्ने, आर्यभन्ज्याङ–रामपुर सडकको स्तरोन्नति गर्ने र बाँसटारी–झडेवा–दुम्कीवास वैकल्पिक सडक निर्माण गर्ने लक्ष्य राखेको जनाएका छन् ।
उम्मेद्वार आचार्यले रामपुर निस्दी, पूर्वखोला, रम्भा र माथागढीका वडा केन्द्र जोड्ने सडकहरूको स्तरोन्नतिलाई प्रतिबद्धतापत्रमा प्राथमिकता दिइएको जनाएका छन् ।
“काउलेडाँडा, जल्पा चुलीडाँडा र मदनपोखरा जस्ता क्षेत्रलाई ’हिल स्टेशन’ का रूपमा विकास गर्ने, होमस्टे प्रवद्र्धन गर्ने र आदिवासी जनजातिको पहिचान झल्किने संग्रहालय निर्माण गर्ने योजना छ।” वातावरण संरक्षणका लागि डढेलो नियन्त्रण र अम्रिसो, दालचिनी जस्ता आयमुलक वृक्षारोपणलाई प्रतिबद्धतापत्रमा एमाले उम्मेदवार आचार्यले जोड दिइएका छन ।
सार्वजनिक सेवालाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, निर्वाचन क्षेत्रका नागरिकसँग ’प्रत्यक्ष संवाद’ र ’जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत जनगुनासो सम्बोधन गर्ने प्रतिबद्धता उम्मेदवार आचार्यले व्यक्त गरेका छन ।





















