तानसेन। स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई आधारभूत तालिम प्रदान गरेको छ। जिल्लाका दश स्थानीय तहका ३४ जना नव प्रवेसी सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई दश दिने आारभूत तालिम दिइएको हो।
दुई समूहमा विभाजन गरेर तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ। तालिममा आधारभूत स्वास्थ्य उपचार, स्वयमसेविकाको काम कर्तव्य र अधिकार बारे जानकारी प्रदान गरिएको थियो ।
तालिम अवधिमा दुई समूहमध्ये एक समूहमा तानसेन नगरपालिका स्वास्थ्य शाखाकी नसिङ्ग निरीक्षक भगवती केसी र अर्काे समूहमा बगनासकाली गाउँपालिकाकी स्वास्थ्य शाखाकी सि.अ.न.मी. निरीक्षक संगीता थापाले सहजीकरण गरेका थिए ।
तालिमको समापन समारोहमा बोल्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले न्यून पारिश्रममा धेरै काम गरेर स्वस्थ समाज निर्माणका महिला स्वास्थ्यस्वयमसेविकाको भूमिका महत्वपूूर्ण रहेको बताइन् ।
उनले तालिममा सिकेका कुरा समुदाय र टोल टोलमा सिकाउन सहभागीलाई आग्र्ह गरिन् । स्वास्थ्य क्षेत्र मानवको अति संवेधनशील क्षेत्र भएको हुँदा सोही अनुसार काममा लाग्नका लागि सहभागिलाई आग्रह गरिन् ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले स्वयमसेविकाहरुले गरेको कामले गर्दा स्वास्थ्य क्षेत्रको सुधार भएको बताए । उनले स्वास्थ्य क्षेत्रका सूचकांकहरु पूरा गर्न स्वयमसेविकाको महत्वपूर्ण भूमिका रहेको हुँदा व्यवहारिक रुपमा सैद्धान्तिक ज्ञानलाई उर्तान सबै सहभागीलाई आग्रह गरे ।
तालिममा स्वास्थ्य कार्यालय पाल्पाका स्वास्थय अधिकृत विश्नाथ न्यौपानेले स्वयमसेविकाको आवश्यकता, स्वयमसेविकाबाट सुधारिएको स्वास्थ्य सुचकांकको बारेमा जानकारी दिएका थिए ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी एवं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कार्यक्रममा फोकल पर्सन मधुसुधन भट्टराईले तालिममा प्राप्त सामग्रीको उचित प्रयोग गर्दै सिकेका कुरा समुदायमा गएर लागू गर्न आग्रह गरे । उनले मासिक रिपोर्टिगलाई नियमित गर्नुपर्ने, आमा समूहमा समयानुसारका रोगको बारेमा छलफल गर्नुपर्नेलगायतका विषयमा ध्यानमा राखेर काम गर्न आग्रह गरेका थिए ।
तालिममा सहभागीको तर्फबाट निस्दी २ की खिना राना र तानसेन ३ की चुन्नी मगर रानाले तालिमबाट धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।





















