पाल्पा । किरण चित्रकार । चिनिसक्नुभयो है ! पाल्पालीले उनलाई चिन्न धेरै सोँच्नु नै नपर्ला !
‘ए, बसपार्कको होटलवाला दाई’ कतिले उनलाई रेष्टुरेष्ट व्यवसायिका रुपमा चिन्लान । ‘कलाकार किरण चित्रकार’ कतिले कलाकारका रुपमा चिन्लान् ।
विभिन्न संघसंस्थामा आवद्ध रहेका किरणलाई कतिले समाजेसेवीका रुपमा चिन्लान् । जे होस् जसले जसरी चिनेपनि उनी ब्यक्ति एकै हुन् ।यसरी बहुआयामिक व्यक्तित्वको छवी बनाएर छाएका किरणको पाल्पा सदरमुकाममा आफ्नै नामको रेस्टुरेन्ट छ । किरण श्रीनगर यातायात व्यवसायी समिति, पाल्पा उद्योग वाणिज्य संघ, विभिन्न क्लब तथा समूहमा सक्रिय छन् ।
यद्यपी, अन्य कुरालाई थाँति राख्दै यहाँ उनको कलाकारिताको प्रसंगलाई मात्र उठान गरिएको छ । किरण कस्तो परिवारमा जन्मिए । कसरी आफूलाई कलाकारितामा समाहित गराए ? र, कसरी पाल्पामै रहेर पनि थुप्रै चलचित्रमा अभिनय गर्न पुगे ?
सानैदेखिको रुचि
किरण तानसेनको भिमसेन टोलमा जन्मिएका हुन् । उनी स्कूलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा अगाडि हुन्थे । अभिनय, नृत्य, चित्रकला इत्यादिमा उनी सानैदेखि सौख राख्थे तर कसरी सौख बन्यो ? उनी आफैलाई पत्तो छैन ।
उसो त किरणका बुवा (लालप्रसाद) कलाकार थिए । जुन कुरा किरणले पछि मात्रै थाहा पाए । आफ्नै होटलमा बसेर किरण बाल्यकाल सुनाउँछन्, ‘म ४ वर्षको हुँदा बुवा बित्नुभयो । उहाँ चित्र कोर्ने, नृत्य तथा कमेडी गर्नुहुन्थ्यो रे ! सायद ममा वुवाको त्यही गुण सरेको हुनुपर्छ ।’
स्कूल पढ्दा विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा उनी नेपाल द्वितीय भए । त्यसबेला उनी तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहका भाई धिरेन्द्रबाट पुरस्कृत भएका थिए । स्कूल स्तरमा किरण नृत्य प्रतियोगितामा पनि सक्रिय थिए ।

किरणको अभिनय यात्रा भने गाईजात्राबाट शुरू भएको हो । नेवारी समुदायमा कोही सदस्यको मृत्यु भएपछि परिवारको तर्फबाट गाईजात्रा निकाल्ने प्रचलन छ । २०५२ सालमा मृत्यु भएका परिवारको तर्फबाट गाईजात्रा निकाल्दा आफूहरू चोकचोकमा पुगेर केही समय नृत्य तथा हाँस्यव्यंग्य गरेको किरण सम्झन्छन् ।

त्यसयता किरणको समूहले २०५३ सालदेखि पाल्पामा गाईजात्रा हाँस्यव्यंग्य प्रहशन शुरू ग¥यो । जुन अहिले पनि निरन्तर छ ।
चर्चित कलाकार अभिनित चलचित्रमा अभिनय
गाईजात्रा हाँस्यव्यंग्य प्रहशन सँगसँगै किरणले चलचित्र अभिनय यात्रा पनि शुरू गरे । २०५२ सालमै पहिलोपटक ‘वास्तविकता’ नामको टेलिचलचित्रमा अभिनय गरेको किरण बताउँछन् । सोही वर्ष किरणले ‘अँगालो अँगालोमा’ चलचित्रमा अभिनय गर्ने मौका पाए । जुन चलचित्रमा रमेश उप्रेती नायक थिए । त्यसयता भने किरण चलचित्र अभिनयमा सक्रिय रहँदै आए ।
किरणले चलेका थुप्रै नायक/नायिका अभिनित चलचित्रमा काम गरेका छन् । राजेश हमाल अभिनित ‘आवारा’, निखिल उप्रेती, दिलीप रायमाझी अभिनित ‘भाइभाइ’, निरुता सिंह, उत्तम प्रधान अभिनित ‘चित्कार’, दिलिप रायमाझी अभिनित ‘जिन्दगानी दर्पण छायाँ’, दिलीप, नविन श्रेष्ठ, कमलकृष्ण अभिनित ‘विवश’, प्रशान्त तामाङ अभिनित ‘गोर्खा पल्टन’, शिलत केसी अभिनित ‘मेरो साथी’ लगायतमा किरणले अभिनय कौशल देखाउने मौका पाएका छन् ।

किशोर खतिवडा, अरुणिमा लम्साल अभिनित ‘पिपल’, निखिल उप्रेती, प्रियंका कार्की अभिनित ‘राधे’ लगायतका चलचित्रमा किरणले अभिनय गरेका छन् ।
चलचित्र निर्माण
चलचित्र निर्माण पनि गरेका छन् किरणले । पाल्पाली कलाकार पूर्ण रानामगर र उनले ‘जीवनलीला’ नामक चलचित्र निर्माण गरेका हुन् । चलचित्रले लगानी उठाएपनि समग्रमा सोचेअनुसार नभएको किरण बताउँछन् । ‘नयाँले चलचित्र बनाउँदा प्रदर्शनमा ठूलै राजनीति हुँदोरहेछ,’ किरण गुनासो गर्छन्, ‘सिजनमा प्रदर्शन गर्न पाएको भए चलचित्रले अझ राम्रो व्यापार गर्थ्यो ।’ किरणको सोच थियो – ‘जीवनलीला’ प्रदर्शनको २ वर्षमा अर्को चलचित्र बनाउने तर नेपालमा चलचित्र क्षेत्रको बिजोग अवस्था देखेर आफूहरू पछि हटेको किरण बताउँछन् ।
गतवर्ष पाल्पामा समेत छायाँकन भएको चलचित्र ‘परदेशी २’मा समेत किरणले अभिनय गरेका छन् । जुन आउँदो दशैंमा प्रदर्शनमा आउँदैछ ।
लोकान्तर डटकमको सहयोगमा





















