पूर्वखोलाले सुरू गर्याे निःशुल्क भिडियो एक्स–रे सेवा

तानसेन। पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ ।

रिङ्गनेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको सो सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडा-वडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स–रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।

पालिकाले हालका लागि गर्भवती महिलाहरुको निःशुल्क सेवा उपलब्ध गराएकाे जनाएकाे छ।  नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

सामान्य एक्स–रे र रगत जाँचकै लागि उपचार शुल्कभन्दा बढी यातायात शुल्क तिरेर सदरमुकाम जानुपर्ने बाध्यता थियो । भिडियो एक्स–रे र प्रयोगशाला सेवा लिन तानसेन जानुपर्ने समस्या अब हटेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको यही चैत ७ गतेसम्मको तथ्याङ्कअनुसार ११२ जना गर्भवती पालिकाभित्र छन् ।

पालिकाले ६ वटै वडामा प्रत्येक महिनाको एक दिन निःशुल्क भिडियो एक्स–रे र जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गर्ने निर्णयसमेत गरेको छ । भिडियो एक्स–रे मेशिन स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशबाट प्राप्त भएको हो भने तालिम स्वास्थ्य केन्द्र प्रदेशको समन्वयमा भएको गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रवाह भएसंगै  स्थानीयलाइ घण्टैकाे यात्रा गरेर चेकजाच गर्न जानुपर्ने बाध्यताकाे अन्त्य भएकाे स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer