नेपाल परिवार नियोजन संघको सक्रियता : ‘गाउँ-गाउँमा प्रजनन स्वास्थ्य सेवा’

तानसेन । एउटा समय थियो जब प्रजनन स्वास्थ्यका बारेमा कुरा गर्नु पाल्पाका गाउँबस्तीमा ‘लाज’को विषय मानिन्थ्यो। तर, समय फेरिएको छ। आज तानसेन मात्र हाेइन, निस्दीकाे बाकामलाङ्गदेखि रैनादेवीकाे सत्यवतीका छेउछाउसम्म प्रजनन स्वास्थ्य अधिकारको रूपमा स्थापित भएको छ। यस परिवर्तनको मुख्य सूत्रधार बनेको छ नेपाल परिवार नियोजन संघ, पाल्पा शाखा।

वि.सं. २०५४ सालदेखि पाल्पा जिल्लामा आफ्नो सेवा आरम्भ गरेको यस संस्थाले झण्डै तीन दशकको यात्रामा आफूलाई सरकारी सेवाको परिपूरक मात्र होइन, एक भरपर्दो अभिभावक संस्थाको रूपमा उभ्याएको छ। शाखाले विगतदेखि हालसम्मकाे काम हेर्दा जिल्लामा प्रजनन् स्वास्थ्य र याैन राेगका बारेमा थुप्रै काम उदाहरणका रूपमा रहेका छन् । कम स्राेतबाट पनि प्रभावकारी सेवा दिन याे शाखाले हरदम लागिपरेकाे देख्न सकिन्छ।

शाखाले  सन् २०२४ /२०२५ को तुलनात्मक तथ्याङ्कले संघको सेवाको आयतन कति ठूलो छ भन्ने पुष्टि गर्छ। दुई वर्षको अवधिमा संघले कुल २,०९,८९१ (दुई लाख नौ हजार आठ सय ९१) पटक विभिन्न सेवाहरू प्रदान गरेको छ।

सीमित स्राेत, कम जनशक्तिका बीच सेवालाइ निरन्तर रूपमा संचालन गरिएकाे शाखा प्बन्धक साेवाकान्त न्याैपानेकाे भनाइ छ। उनका अनुसार २०२४ मा ९८,२८२ महिला र २२,६०४ पुरुषले सेवा लिएका थिए भने सन् २०२५ मा सेवाग्राहीको संख्यामा केही परिवर्तन आए पनि सेवाको गुणस्तरमा वृद्धि गरिएको छ। विशेष गरी यौनिक अल्पसंख्यकहरूको पहुँच २ बाट बढेर ५ पुग्नुले समाजको सबैभन्दा तल्लो तहसम्म संघ पुगेको देखाउँछ।

यस्तै शाखाले असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान जाने जोखिमलाई न्यूनीकरण गर्न संघले ठूलो भूमिका खेलेको छ। सन् २०२४ मा ४०५ जना र २०२५ मा ३३५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये अन्यत्र औषधि सेवन गरी जटिलतामा फसेका १६ जनाको सफल उपचार गरेर संघले उनीहरूको जीवन रक्षामा समेत सहयाेग गरेको छ।

गाउँ–गाउँमा क्लिनिक, घर–घरमा सेवा

संघको सेवा तानसेनको “परिवार स्वास्थ्य केन्द्र” मा मात्र सीमित छैन। भौगोलिक विकटता र गरिबीका कारण स्वास्थ्य केन्द्रसम्म आउन नसक्नेहरूका लागि संघ आफैँ गाउँ पुग्ने गरेको छ।  माथागढी–३, कसेनी र बगनासकाली–८, बराङ्दीमा सञ्चालन भइरहेका नियमित र साप्ताहिक क्लिनिकहरूले ग्रामीण भेगका महिलाहरूलाई ठूलो राहत दिएका छन्। यस्तै  रिब्दीकोट र तानसेनका विभिन्न वडाहरूमा कार्यरत सामुदायिक परामर्शदाता र प्रजनन स्वास्थ्य स्वयंसेविकाहरूले घरदैलोमै पुगी परामर्श दिने गरेका छन्। यसले विशेष गरी अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमै स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरेको शाखा प्रबन्धक न्याैपानेकाे भनाइ छ।

आधुनिक स्वास्थ्य चुनौती र विशेषज्ञता

परम्परागत परिवार नियोजनका साधन वितरणबाट सुरु भएको यो संघ अहिले आधुनिक चिकित्सा पद्धतितर्फ मोडिएको छ। पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) बाट हुने मृत्युदर घटाउन संघले VIA र HPV DNA परीक्षणलाई प्राथमिकतामा राखेको छ। जसमा सन् २०२५ मा मात्रै १५५ जनाले बाँझोपन सम्बन्धी परामर्श र उपचार लिएका छन्। त्यस्तै, STI (यौनजन्य रोग) तर्फ दुई वर्षमा १८ हजार ८६२ पटक सेवा प्रवाह भएको छ।

नेपालमा नमूनाकाे रूपमा सुरू गरिएकाे  एचआईभी संक्रमणबाट बचाउन दिइने PrEP सेवा र संक्रमितहरूको नियमित प्रेषण (Referral) सेवाले पाल्पामा जनस्वास्थ्यको सुरक्षा कवचको काम गरेको शाखाले जनाएकाे छ ।

नयाँ पुस्ता: लाजबाट सचेतनातर्फः

युवा र किशोर–किशोरीहरूका लागि संघले “युवा मैत्री सेवा केन्द्र” स्थापना गरेको छ। विद्यालय र कलेजहरूमा गठन गरिएका ‘साथी शिक्षा समूह’ ले व्यापक यौनिकता शिक्षा (CSE) मार्फत उनीहरूलाई आफ्नो अधिकार र शरीरका बारेमा सुसूचित गरिरहेका छन्। यस वर्ष त झन् स्थानीय सरकारहरूसँग समन्वय गरी यी कार्यक्रमका लागि बजेट नै विनियोजन गराउने पहल गरिएको छ, जसले कार्यक्रमको दिगोपना सुनिश्चित गरेकाे शाखाका काेषाध्यक्ष माधवप्रसाद अर्यालले बताए ।

संघको पाल्पा शाखा अबको वर्षमा अझै परिष्कृत हुने तयारीमा छ। शाखाका आगामी योजनाहरूले यसलाई “स्मार्ट हेल्थ सेन्टर” को रूपमा विकास गर्ने लक्ष्य राखेका काेषाध्यक्ष अर्यालले बताए ।

शाखाले तानसेन–६ लाई केन्द्रित गरी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ। यस्तै कामकाजी महिला, पुरुष र कर्मचारी वर्गलाई लक्षित गरी बिहान र बेलुकीको समयमा विशेषज्ञ सेवा दिने योजना बनाइएको छ। यसले गर्दा ‘अफिस आवर’ मा समय मिलाउन नसक्नेहरू लाभान्वित अपेक्षा गरेकाे शाखाले जनाएकाे छ ।

यस्तै शाखाले विशेषज्ञ चिकित्सकमार्फत स्त्रीरोग, सुरक्षित गर्भपतन र आधुनिक परिवार नियोजनका दीर्घकालीन साधनहरूको सेवा थप विस्तार गर्ने याेजना रहेकाे जनाएकाे छ ।

विगतकाे तथ्याङ्कले सेवाको परिमाण देखाउँछ भने सेवाग्राहीको सन्तुष्टिले संघको सफलता उत्तिकै देखिन्छ ।तर, अहिले सेवा प्रवाहका लागि प्रयाप्त बजेट नहुँदा स्थानीय तहहरूले समन्वय र सहकार्य अपरिहार्य रहेकाे शाका अध्यक्ष शुसील शाक्यले बताए ।  नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याएको याे संस्थाबाट हासिल भएका उपलब्धिलाई जोगाउँदै अझ विस्तार गर्न स्थानीय सरकारको सक्रिय भूमिका, पर्याप्त बजेट र रणनीतिक सहकार्य अनिवार्य भइसकेको सरोकारवालको भनाइ छ ।

झण्डै तीन दशकको यो अटल सेवाले भन्छ, पाल्पामा प्रजनन स्वास्थ्य अब कसैको व्यक्तिगत पीडा होइन, बरु संघको साथमा साझा समाधानको विषय बनेको छ। यसमा सधै सहकार्रयमा जुटेकाे छ नेपाल परिवार नियाेजन संघ, पाल्पा शाखा !

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer