मिलन विश्वकर्मा
पाल्पा । गाउँघरमा भएका प्रायः युवा फुर्सदिला देखिन्छन्। बजार, चोक, चौतारीमा राजनीतिक अवस्थाबारे तर्कवितर्क गरेर बस्छन्। दिनभर कुनै खेल खेलेर बस्छन्। तर, रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीस्थित डबकाका जीवन कुँवरलाई भने समयको अभाव छ। ५० वर्षीय कुँवर बिहान सबेरै उठेदेखि राति अबेरसम्म काममा नै व्यस्त हुन्छन्।
कुँवर पेशाले शिक्षक हुन्। उनी स्थानीय कालिका माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा छन्। २०६८ सालदेखि शिक्षण गर्दै आएका उनी अस्थायी शिक्षक हुन्। स्थायी जागिर खान नसकेका उनले बैकल्पिक पेशाका रुपमा जलेश्वर कृषि तथा पशु वहुउदेश्यीय फर्म नै दर्ता गरेर बंगुर पालन गरेका छन्।
उनी दिनभरि विद्यालयमा काम गर्छन्। बिहान–साँझ बंगुरको स्याहार गर्छन्। उनका फर्ममा १३ वटा माउ र एउटा बिर ९बिजका लागि पालिएको पाठो बंगुर० छ। १० भन्दा बढी साना पाठापाठी छन्। ब्रोइलर कुखुरा पालेका छन्। तरकारी खेती समेत गर्दै आएका छन्।
वार्षिक १० लाख आम्दानी
कुँवरले सायर र लेण्डरेस जातका माउ बंगुर पालेका छन्। माउले जन्माएका पाठापाठी बिक्री गर्छन्। एक महिनामा कम्तीमा २० वटा पाठापाठी बिक्री हुँदै आएको उनले बताए। एउटा पाठा पाँच हजार रुपैयाँमा बिक्री हुने गरेको कुँवरले जानकारी दिए।
पाठा र पाठीको मूल्य एउटै छ। एउटा माउले एक पटकमा १२ वटासम्म बच्चा जन्माउँछ। वार्षिक ३० लाख बराबरको कारोबार हुन्छ। १० लाख शुद्ध नाफा हुने कुँवरले बताए। पाठापाठी किन्नेको माग बढी भएकाले पु¥याउन नसकेको उनको भनाइ छ।
एक करोडभन्दा बढी लगानी
२०७३ सालमा १२ लाख रुपैयाँ लगानीबाट व्यवसाय सुरू गरेका कुँवरको फार्ममा अहिले एक करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सुरुमा एक हजार स्थानीय जातका कुखुरा पालेका थिए। बजारको समस्या भएपछि यो व्यवसाय छाडे। त्यसपछि चारजना साथीसँग सहकार्य गरेर बंगुर व्यवसाय गर्न थाले। व्यवसाय सन्तोषजनक हुँदै गयो। पछिल्लो समयमा तीनजना साथीले छाडेपछि एकल स्वामित्वमा ल्याए। अहिले व्यवसायलाई विस्तार गरेर ब्रोइलर कुखुरा र बेमौसमी तरकारी खेती पनि गरेका छन्। व्यवसायबाट नाफा भएको रकम व्यवसायमा नै लगानी गरेको उनले बताए।
कुवँरको फार्ममा ४ हजार ५०० वटा ब्रोइलर कुखुरा छ। ६० रोपनी जमिनमा मौसमी तरकारी खेती गर्दै आएका छन्। जिउँदो कुखुरा मासुका लागि बिक्री हुन्छ। खोरमा मरेका वा बिक्री नभएका कुखुरा बंगुरलाई खान दिएपछि दानाको काम गरेको उनले सुनाए।
मौसमअनुसारका तरकारी खेती समेत गर्दै आएका छन्। काउली, आलु, काँक्रा र गोलभेंडा खेती गर्दै आएका छन्। सुरूमा एउटा व्यवसाय थालेका उनले क्रमशः परिपुरकको रुपमा अन्य व्यवसाय गर्दै आएका हुन्। ‘बंगुर व्यवसायलाई कुखुरा व्यवसायले फाइदा गरेको छ,’ उनले भने, ‘बंगुर र कुखुराको मलले तरकारी खेतीलाई फाइदा पुगेको छ।’
काम गर्नका लागि तीनजना कामदार तलब दिएर राखेका छन्। एकजना कामदारलाई १७ हजार तलब दिन्छन्। आवश्यकताअनुसार ज्यालादारीमा कामदार थप गर्छन्।
सरकारको सहयोगले थप उत्साहित
स्थानीय र प्रदेश सरकारले सहयोग गरेको कारण व्यवसाय विस्तार गर्न सजिलो भएको कुवँरले बताए। संस्था दर्ता गरेर व्यवसाय गरेपछि केही आर्थिक सहयोग रिब्दीकोट गाउँपालिकाले गरेको छ। अहिले फर्ममा उत्पादन भएका बंगुरका पाठापाठी समेत गाउँपालिका खरिद गर्छ। उत्पादन गर्न सके बजारको समस्या नभएको उनी बताउँछन्। गत आर्थिक वर्षदेखि गाउँपालिकाभित्रका किसानलाई गाउँपालिकाले अनुदानमा बंगुरका पाठापाठी वितरण गर्दै आएको छ। ती बंगुरका पाठापाठी गाउँपालिकाले कुवँरको फर्मबाट नै खरिद गरेको छ।
कुवँरका अनुसार लुम्बिनी प्रदेश सरकारले ६० रोपनी जमिनको भाडा तिरिदिएको छ। तीन वर्षसम्म भाडा तिरिदिने उनले बताए। यस्तै, कृषि विकास बैंकबाट व्यवसाय सञ्चालनका लागि लिएको नौ लाख रुपैयाँ ऋणको ब्याज समेत प्रदेश सरकारले तिरिदिएको उनले बताए। यस्तै, कर्मचारीको तलबमा सहयोग गरेको छ। १७ हजार ६१९ रुपैयाँका दरले तीनजना कामदारलाई तलब दिन्छन्। तलबको ४० प्रतिशत रकम प्रदेश सरकारले व्यहोर्ने गरेको उनले बताए।
कर्मचारीको तथा आश्रित परिवारको स्वास्थ्य बिमा तथा उपचार सामाजिक सुरक्षा कोषले सुनिश्चित गरेको उनी बताउँछन्। कर्मचारीको कट्टी रकम जागिर छाड्ने बित्तिकै आर्जित ब्याज समेत उपदानको रुपमा पाउने र ६० वर्ष पुगेपछि कृषि पेन्सन पाउने व्यवस्था रहेको कुवँरले बताए।
बंगुर पाल्न सुरुमा अपहेलित‚ अहिले उदाहरणीय
गाउँघरमा अझै पनि जातअनुसारको काम र व्यवसाय गर्नुपर्छ भन्ने मान्यता जीवितै छ। बाहुन र क्षेत्री समुदायका मानिसले बंगुर छुन समेत नहुने बुढापाकाको बुझाइ छ। यस्तो सोंच भएको समाजमा क्षेत्रीको छोरा कुँवरले बंगुर पालेर स्याहारसुहार गर्दा ‘क्षेत्रीको छोराले बंगुर पालेर जात फाल्यो’ भन्दै फरक व्यवहार गरेको उनले बताए। समाजका कतिपय कार्यक्रममा समेत अपहेलित हुनु परेको तीतो विगत कुँवरले सुनाए।
बंगुरपालन व्यवसायबाट आम्दानी गर्न थालेपछि सबैले सम्मान गर्न थालेको उनको अनुभव छ। अहिले यस क्षेत्रको उदाहरणीय र सफल कृषकको रुपमा पहिचान दिन सफल भएकोमा कुवँर खुसी छन्। सरकारले समेत सहयोग गरेपछि उनी उत्साहित बनेका हुन्।
आफू शिक्षित भएर समाजलाई राम्रोसँग अध्ययन गरेको कारण फरक व्यवसाय थालेको उनले सुनाए। व्यवसायले मानिसलाई उँचनिच नबनाउने कुवँरको बुझाइ छ। परिश्रम गरेर धनी बन्न सके समाजको जातीय विभेद कम गर्न ठूलो सहयोग पुग्ने उनको बुझाइ छ। जुन समुदायका मानिसले जे व्यवसाय गर्दा पनि हुन्छ। मेहनत र इमान्दार भएर कुनै एउटा व्यवसाय गर्न सके परिवार पाल्न खाडी मुलुकमा जानु पर्ने बाध्यता टर्ने उनको अनुभव छ।