
पाल्पा । पूर्वखोला गाउँपालिकामा संचालन भएको निःशुल्क मुटु स्वास्थ्य शिविरबाट ५ सय १५ जनाले सेवा लिएका छन् ।
पूर्वखोला गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार र शनिबार चलेको मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका भित्रका नागरिकको उत्साहजनक उपस्थिती रहेको थियो ।
काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीसहित १५ जनाको समूहमा रहेका स्वास्थ्यकर्मीले रिङ्नेरहस्थित कोभिड अस्पतालमा ५ वर्षदेखि ८५ वर्ष माथिका समेत मुटु परीक्षण गरि सेवा दिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए ।
शिविरमा मुटुका अलावा जनरल चेकअप, ईको, ईसीजी, व्लड सुगर टेष्ट, व्लड प्रेसर टेष्ट सहित निशुल्क औषधि सेवा उपलव्ध गराइएको थियो ।
शिविरमा स्वास्थ्य परीक्षणका गरिएकामध्ये ५० प्रतिशत बढीलाई मुटु र मधुमेह सम्वन्धी स्वास्थ्य समस्या देखिएको विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताए ।
‘गाँउघरमा समेत पछिल्लो समय फेरिएको जीवनशैलीका कारण नसर्ने रोगको अवस्था गम्भीर बढ्दो क्रममा रहेको डा. रेग्मीले बताए ।
गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले गाँउबासीलाई स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन तथा स्थानीय तहमै विशेषज्ञ सेवा उपलव्ध गराई परीक्षण सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको बताए ।
उनले शिविरमा आएका धेरै जनाले पहिलो पटक आफूमा मुटु सम्वन्धी समस्या भएको थाहा पाएको हँदा थप उपचारका लागि सहज हुने बताए । गाउँपालिकाले राखेको शिविरमा छिमेकी गाउँपालिकाका नागरिकको समेत सहभागिता रहेको थियो ।