पाल्पामा ५०८ जना सक्रिय संक्रमित, ४२ जनाकाे मृत्यु !

तानसेन।पाल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ ।

चैतको अन्तिम सातामा सक्रिय संक्रमित संख्या न्यून हुँदै आएकोमा हाउ उच्च गतिमा वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हाल थपिएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका रहेका छन् । तानसेन नगरभित्र हाल २३६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै रामपुरमा ३८, माथागढीमा ३९, पूर्वखोलामा २३, रैनादेवी छहरामा ७८, रम्भामा १० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

यस्तै बगनासकाली गाउँपालिकामा भित्र ३४, तिनाउमा २०, रिब्दीकोटमा २१ र निस्दीमा ९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल जिल्लाका विभिन्न स्थानीय तहले एन्टीजेन विधिबाट समेत कोरोना परीक्षण गर्दै आएका छन् ।

हाल जिल्लामा संक्रमितको संख्या दैनिक रुपमा बढेका कारण स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञामा पनि थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

दैनिक संक्रमित बढ्ने र संक्रमितको मृत्यु हुने क्रम समेत बढेको हुँदा थप सजकता अपनाउनका लागि जिल्लाबासीमा अनुरोध गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । हालसम्म जिल्लामा ४२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया