पाल्पामा थप ६ जना संक्रमितको मृत्यु!

तानसेन ।पाल्पामा पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार होम आइसोलेसनमा बसेका चार तथा युनाइटेड मिसन अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाका ४० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको  स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यस्तै माथागढी गाउँपालिका–३ कसेनीकी ५६ वर्षीय महिलाको पनि होम आइसोलेशनमा मृत्यु भएको छ । गाउँपालिकाले बनाएको कोरोना अस्थायी अस्पतालमा उपचार पश्चात अक्सिजन लेबल घटेपछि घर लैजाने क्रममा उनका मृत्यु भएको थियो । यस्तै रुप्सेकी ४० वर्षीय कोरोना संक्रमित महिलाको पनि बिहीबार मृत्यु भएको छ । होम आइसोलेसनमै बसेकी उनी दमको बिरामी थिइन ।

यस्तै बगनासकाली गाउँपालिका–६ यम्घा लाम्दीका ७५ वर्षीय पुरुषको पनि होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिका–४ का ४४ वर्षीय पुरुष र गुल्मी छत्रकोट गाउँपालिका–३ का ३५ वर्षीय पुरुषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसंगै पाल्पामा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले जिल्लाका विभिन्न अस्पतालमा ६७ जना तथा होम आइसोलेशनमा १३०२ जना गरि एक हजार ३६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया