तानसेनका ६ होटलमा आइसोलेशन कक्ष बनाइयो!

तानसेन । पाल्पामा दैनिक रुपमा कोरोनाका संक्रमित बढेको र होम आइसोलेशबाटै संक्रमण फैलिएपछि जिल्लाका होटल व्यावसायीले होटलमा आइसोलेशन कक्ष निर्माण गरेका छन।

जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले अनुमति दिए पछि  पहिलो चरणमा ६ वटा होटलले आइसोलेशन कक्ष निर्माण गरि सुलभ मूल्यमा संक्रमित राख्ने व्यवस्था गरेका हुन् ।

पछिल्लाे समय पाल्पा पनि कोरोनाको हटस्पट बन्दै गएपछि संक्रमितको व्यवस्थापनका लागि होटलहरुले सेवा दिन आइसोलेशन कक्ष निर्माण गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

जिल्लामा दैनिक सय भन्दा बढीको संख्यामा संक्रमित थपिने क्रम नरोकिए पछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले होटलहरुमा आईसोलेशन कक्ष बनाउन स्विकृत दिएको थियो ।

जसअनुसार पहिलो चरणमा सदरमुकामका होटल श्रीनगर, अन्नपूर्ण गार्डेन, होटल इन्द्रेणी, मोनिका गेष्ट हाउस, होटल ताज तथा पाल्पा दरबार होटलमा आइसोलेशन कक्ष निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सदरमुकाम तानसेन लगायत स्थानीय तह र समुदायमा समेत सक्रमित बढेको र होम आइसोलेशनमा बस्दा स्वास्थ्य मापदण्डको पालना नर्गदा जोखिम बढेको छ । सोही कुरालाई मध्यनजर गरेर यहाँका होटलहरुले सुलभ मुल्यमा व्यवस्थीत तवरबाट आइसोलेशनमा बसाल्ने ब्यवस्था गरेको होटल संचालक लक्ष्मण बस्यालले बताए ।

होटल आइसोलेशनहरुले संक्रमितहरुका लागि दुई पटक खाना तथा खाजा, तातो पानीको व्यवस्था, एट्याच ट्वालेट, बाथरुमसहितको सुविधा दिए वापत प्रतिदिन प्रति व्यक्ति दुईदेखि ३ हजारसम्म लिने गरेका छन् ।

पाल्पामा हालसम्म १ हजार ५४० सक्रिय संक्रमित रहेकोमा १ हजार ४६१ जना होम आइसोलेशन बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया