मिसन र छहराका संक्रमित र कुरुवालाई निःशुल्क खाना!

तानसेन । पाल्पाको एक गैर सरकारी संस्थाहरुले कोरोना संक्रमित बिरामी र कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरेको छ ।

तानसेनस्थित सामाजिक स्रोत विकास केन्द्र नेपाल एसआरडिसिएनले युनाइटेड मिसन अस्पतालमा रहेका कोरोना संक्रमित र उनीहरुका कुरुवाहरुका लागि दैनिक खाना खुवाउदै आएका छन् ।

यस्तै रैनादेवी छहरा गाउँपालिकाको कोभिड अस्पतालका बिरामी र कुरुवाका लागि समेत खानाको व्यवस्था गरेको सो संस्थाले जनाएको छ । कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामीहरु र कुरुवाहरुको लागि १ महिना सम्म खाना खुवाउने प्रवन्ध मिलाएको संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले जानकारी दिए । अस्पताल भित्रै रहेको क्यान्टिनबाट सबै खानाको व्यवस्था मिलाइएको छ ।

कोरोना संक्रमितहरुलाई होटलहरुले पनि खाना खुवाउन डराउने र कुरुवाहरु वाहिर खानाको व्यवस्था गर्न निस्कदा कोरोना संक्रमण बढ्न सक्ने भएकोले आफूहरुले खानाको व्यवस्थापन गर्दै आएको अध्यक्ष गिरीले बताए ।

अहिले मिसन अस्पतालमा दैनिक ३० देखि ३५ जना तथा रैनादेवी छहरा गाउँपालिकाले संचालन गरेको कोभिड अस्पतालका ३ जना बिरामी र ३ जना कुरुवालाई दैनिक खानाको व्यवस्था गरेको अध्यक्ष गिरीले बताए ।

महामारीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्ने हेतुले एसआरडिसिएनले छहराको कोभिड अस्पताल संचालनमा दुईवटा बेडको समेत व्यवस्थापन गरेको छ । यस्तै अन्य निकायहरुलाई मास्क सेनिटाईजर लगाउतका स्वास्थ्य सामग्री वितरण समेत गरेको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया