तानसेन । समुदाय स्तरमा कोरोना संक्रमण र मृत्युदर वृद्धि भएपछि स्थानीय तहहरुले संक्रमण न्यूनिकरणका कार्यहरु सुरु गरेका छन् ।

जिल्लाका दशै स्थानीय तहमा संक्रमित बढेपछि अहिले अक्सिजनसहितका आइसोलेशन कक्ष तथा कोभिड अस्पताल निर्माण गरेर संक्रमितको उपचार सुरु गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसंगै मृत्युदर समेत बढ्न थाले पछि स्थानीय तहहरुले कोभिड उपचार तथा परामर्श सेवा सुरु गरेका हुन् । यसबाट संक्रमितहरुलाई ठूलो राहत मिलेको छ।

स्थानीय तहमै सहज उपचार सेवा उपलब्ध भएपछि प्रकोप नियन्त्रणमा समेत सहयोग पुगेको छ। संक्रमण बढेपछि केही स्थानीय तहले कोभिड अस्पताल संचालन गरेका छन भने अन्यले अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गरेर बिरामीको उपचार गर्दै आएका छन् ।

गत वर्ष जत्तिको तयारी नभएपनि हाल जिल्लाका दशवटै स्थानीय तहले कोरोना उपचार केन्द्र सहित अक्सिजन सुविधासहितको आइसोलेशन कक्षको निर्माण गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

पछिल्लो समय स्थानीय तहले चासो दिएका कारण बिरामीको उपचारका केही सहज भएको पनि सूचना अधिकारी पन्थीले बताए ।

यस्तै जिल्लामै सबैभन्दा धेरै संक्रमित रहेको तानसेन नगरपालिकाले संक्रमित राख्नका लागि ५० बेडको आइसोलेसन कक्ष निर्माण गर्ने तयारी गरेको नगर प्रमुख अशोक कुमार शाहीले जानकारी दिए ।

आइसोलेशन निर्माणका लागि ३० लाख बराबरको रकम सहयोग गर्ने निकाए भेटिएको अन्य रकम नगरपालिकाले खर्च गर्नेगरी आइसोलेशन कक्ष निर्माण तयारी भएको नगर प्रमुख शाहीले बताए ।

पछिल्ला दिनहरुमा बिरामीको चाप बढेसँगै अस्पतालहरुमा बेड नपाएर ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुन थाले पछि स्थानीय तहहरूले स्थानीय स्तरमै उपचार केन्द्र देखि अक्सिजन सहितको आइसोलेस कक्ष निर्माण गर्न थालेका हुन।

यसरी उपचार केन्द्र सहित आइसोलेशन कक्षको निर्माण भए पनि दक्ष जनशक्ति औषधि र आवश्यक उपकरणहरूको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ।

तपाईको प्रतिक्रिया