
तानसेन । पाल्पाली संगम अमेरिकाले कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
पाल्पाली संगम अमेरिकाका संयोजक महेश भट्टराईको संयोजकत्वमा अगाडि बढेको अभियान अन्तर्गत पहिलो चरणमा पाल्पा अस्पतालसंगै जिल्लाका आठ स्थानीय तहलाई २० वटा कन्सन्ट्रेटर सहयोग गरेको हो ।
विहिबार अमेरिकाबाट सामग्री जिल्लास्थित स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको छ । जसमध्य पाल्पा अस्पताल र रामपुर अस्पतालका लागि दुई÷दुई वटा साथै तानसेन नगरपालिका अन्तर्गत बन्दीपोखरा, मदनपोखरा, अर्गली स्वास्थ्य चौकीका लागि एक/एकवटा कन्सन्ट्रेटर दिइएको वितरण गरिएको छ ।
यस्तै तिनाउ गाउँपालिकाको कोभिड अस्पताल, माथागढीको देउगीरस्थित कोभिड अस्पतालका साथै कसेनी, चिदीपानी र रुप्से स्वास्थ्य चौकीका लागि पनि
एक/एक वटा कन्सन्ट्रेटर वितरण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले बताए । यस्तै बगनासकाली गाउँपालिकाको कोभिड अस्पताल, तथा पोखराथोक र नायरनमतलेस स्वास्थ्य चौकीलाई पनि कन्सन्ट्रेटर दिइएको छ ।
रिब्दीकोटको खस्यौली कोभिड अस्पताल र पालुङमैनादी स्वास्थ्य चौकी, रैनादेवी छहराको छहरा स्वास्थ्य चौकी कोभिड अस्पताल र रम्भाको ताहुँ कोभिड अस्पतालका लागि एक/एक वटा कन्सन्टट्रेटर प्रदान गरिएको प्रमुख चौधरीले बताए ।
सामग्री पाएपछि स्थानीय तहका प्रमुखहरुले महामारीका बेला विदेशमा बस्ने पाल्पालीले कन्सन्ट्रेटर दिएर जन्मभूमि प्रतिको देखाएको मायाको प्रसंसा गरेका छन् ।
पहिलो चरणमा कन्सन्ट्रेटर वितरण र केही रकम समेत बांकी रहेको हुँदा सो रकमबाट अन्य स्वास्थ्य उपकरणका साथै स्वास्थ्य सामाग्री खरिद गरेर स्थास्थ्य संस्थालाई वितरण गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।