तानसेन । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि सिदार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध भएको छ ।

उक्त राजमार्गको पाल्पा बुटवल सडकखण्डको कालीमाटी, तथा बर्तुङ्ग राम्दी सडकखण्डको पिपलडाँडामा पहिरो झरिरहेको प्रहरीले जनाएको छ ।

राजमार्गको राम्दी र अगाहाखोलाको बीचमा पर्ने भीरबाट ढुंंगा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको सेरामा पनि कालीगण्डकी करिडोरबाट लेदोसहितको पहिरो झरिरहेको प्रहरी चौकी राम्दीका हवल्दार दीपकराज गिरीले बताए ।

पहिरो पन्छाउने कार्य भएपनि वर्षा नरोकिएको हुँदा समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै तानसेन रिडी सडकखण्डको हार्थाकमा पहिराका कारण सडक अवरुद्ध भएको छ । उता पाल्पा बुटवल सडकखण्डको गौडेपुल, कालीमाटी नजिकै झरेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

निरन्तरको झरीका कारण पहिरो झर्ने क्रम विभिन्न स्थानमा भए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी त्वातीले बताए ।

मुख्य राजमार्गसंगै जिल्लाका अधिकांश भित्रि सडकहरुमा पहिरो खसेको छ । खासगरी सडक स्तरउन्नती र चौडा गरिएका स्थानमा पहिरोले राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया