पाल्पाका अधिकांश सडकमा पहिरो, मुख्य राजमार्ग एकतर्फी संचालन गर्ने प्रयास

तानसेन । अविरल वर्षासँगै पाल्पाका अधिकांश सडकमा पहिरो खसेको छ ।

तीन दिनदेखिको झरीका कारण मुख्य राजमार्गसहित ग्रामीण क्षेत्रमा प्रवेश गर्ने अधिकांश सडकमा पहिरो खसेको हो । विभिन्न स्थानमा वर्षासंगै पहिरो खसेपछि अवरुद्ध सिदार्थ राजमार्गमा हालका लागि पहिरो पन्छाएर एकतफी सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै तानसेन रिडी सडकखण्डको हार्थोकमा पनि पहिरो पन्छाए एकतर्फी सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्र त्वातीले जानकारी दिए ।

उता सिदार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै भने माथिबाट झरेको खहरे खोलाका कारण सवारी संचालनमा समस्या भएको प्रहरीले जनाएको छ ।

मुख्य राजमार्गमा पहिरो खसेका स्थानमा सडक डिभिजन कार्यालयको पहलमा पहिरो पन्छाएर एकतर्फी सवारी संचालनको प्रयास भएपनि दुईतर्फी सवारी संचालन गर्नका लागि केही दिन लाग्ने प्रहरीले जनाएको छ । यस्तै जिल्लाका अधिकांश ग्रामीण सडक भने पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अन्य समयमा जस्तो यातायात र मानिसको आवतजावत नभएको हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । कालीगण्डकी नदीको रुरु क्षेत्रमा पानीको बहाव बढेको छ ।

यस्तै खहरे खोलाहरुमा पानीको मात्रा बढेको हुँदा पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् । ग्रामीण सडकहरुमा जथाभावी रुपमा सडक विस्तार र चौडा गरिएको हुँदा पनि धेरै पहिरो खसेको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया