तानसेन । अविरल बर्षासंगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड संचालनमा आउन सकेको छैन ।
मंगलबार राती पहिरो खसेर अवरुद्ध भएको तानसेन – बुटवल सडकखण्डको गौडेपुलमा सडक अवरुद्ध भएको हो । निरन्तरको झरीका कारण बुधबार दिनभरको प्रयासले पनि पहिरो पन्छाउन नसकिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिबु खत्रीले बताए ।
पानीको बहाव बढेपछि डुम्रे खोलाले कटान गर्दा गौडेपुल नजिकै सडकको ५० मिटर बेस नै बगाएको छ । सोही स्थानमा माथिबाट चट्टानसहितको पहिरो झरिरहेको हुँदा सडक सुचारु गर्न समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
उक्त राजमार्गको अन्य स्थानमा गएका पहिरो भने पन्छाएर एकतर्फी रुपमा सडक सुचारु गरिएको छ । पानी नपरेमा बिहीबार दिउसोदेखि सडक सुचारु गरिने पनि सडक डिभिजन पाल्पाले जनाएको छ ।
उता आर्यभञ्याङ्ग रामपुर सडक खण्डमा भने दर्जनबढी स्थानमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन पाल्पाले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण सडकमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।