
काठमाण्डौं । बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिममा भने अन्य कम वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।
अहिले मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणी भूभाग भारतको बिहार क्षेत्रमा रहेको हुँदा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा त्यसको असर बढी देखिने मासम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘असारको सुरुमै परेको जस्तो ठूलो पानी पर्ने सम्भावना केही दिन नदेखिएको महाशाखाले जनाएको छ ।
मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसमी बुलेटिनमा बुधबार दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि राति भने त्यस्तो सम्भावना केही स्थानहरुमा मात्र देखिएको छ ।
यस्तै बिहीबार र शुक्रबार पनि बुधबारको जस्तै अवस्था रहने पूर्वानुमान विभागले गरेको छ ।