
तानसेन । यसवर्ष समयमा मनसुन सुरु भएपछि सिचाई सुविधा भएका फाट र खोलाखेत संगै टारी खेतहरुमा समेत वर्षे धान रोपाई सुरु भएको छ ।
मनसुन सक्रिय भएपछि कोरोना कहरका बीचमा किसानहरु मानो रोपेर मुरी उब्जाउनका लागि खेतहरुमा पुगेका हुन् । समयमा मनसुन सक्रिय भएपछि असार १५ अगाबै धेरै क्षेत्रमा रोपाई भएको छ ।
कृषि ज्ञान केन्द्र पालपाले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।
अधिकांश फाटहरुमा रोपाई सम्पन्न भएको र मकै लगायत अन्य खेती स्यार्न बाकी रहेका क्षेत्रमा भने रोपाई हुन बाकी रहेको केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । गतवर्षको तुलनामा यसवर्ष हाल १५ प्रतिशन धेरै रोपाई भइसकेको प्रमुख अर्यालले बताए ।

गतवर्ष असार १५ सम्म ३० प्रतिशत क्षेत्रफलमा मात्रै वर्षे धान रोपेका पाल्पाका किसानहरुले यस वर्ष १५ असार अगाबै ४५ प्रतिशत क्षेत्रफलमा रोपाइ सम्पन्न गरेका छन् । समयमा पानी परेसंगै आकासे पानीको भेल छोपेर खेती गर्दै आएका किसानका लागि ठूलो राहत मिलेको छ ।

पाल्पामा मकै पछिको मुख्य अन्नबालीको रुपमा ९ हजार ६ सय हेक्टर क्षेत्रफलमा वर्षे धानको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।