तीज गीतका लागि जुर्मुराए कलाकार, रेकर्डिङ र छायाँकन धमाधम

काठमाडौं – बैशाख–जेठ महिना, तीज गीतको रेकर्डिङ र छायाँकन गर्ने सिजन मानिन्छ । लोकदोहोरी क्षेत्रका कलाकारहरु बैशाख महिनादेखि नै तीज गीतको तयारीमा लाग्थे ।

तर, कोरोना महामारीका कारण बैशाखको मध्यबाट निषेधाज्ञा लागू गरियो । निषेधाज्ञाका कारण कलाकारहरुले बैशाख, जेठमा तीज गीतको काम गर्न पाएनन् । असारको ७ गतेबाट भने उपत्यकाको निषेधाज्ञा खुकुलो बनाई । मंगलबार देखि त निषेधाज्ञा अझ खुकुलो बनेको छ । निषेधाज्ञा खुकुलो भएसँगै भने कलाकारहरु तीज गीतका लागि जुर्मुराएका छन् ।

०००
गायिका राधिका हमालले निषेधाज्ञा खुकुलो भएसंगै यसवर्षका लागि आधा दर्जन बढी तीज गीत रेकर्डिङ गराईसकेकी छिन् । केही गीतको भिडियो समेत छायाँकन भैसक्यो । अन्य केही गीतहरु रेकर्डिङको क्रममा पनि छन् । मंगलबार मात्रै उनको स्वर र अभिनय रहेको ‘मरिन्छ कि साईँलो’ सार्वजनिक भैसकेको छ । उनले टेलिफोन कुराकानीमा भनिन्, ‘निषेधाज्ञा खुकुलो भएसँगै तीज गीतको तयारीले छोएको छ । आज पनि गीत रेकर्डिङ गर्दैछु ।’

गायक खुमन अधिकारीले निषेधाज्ञा खुकुलो भएसँगै आधा दर्जन तीज गीत गाईसकेका छन् । दुईवटा तीज गीतको छायाँकन समेत पूरा गरिसके । अझै दुईवटा तीज गीत रेकर्डिङ गराउने तयारी रहेको उनले सुनाए । उनको पनि एउटा तीज गीत सार्वजनिक भैसकेको छ । लोक गायक खेम सेञ्चुरीले भने निषेधाज्ञा खुकुलो भएसँगै आधा दर्जन तीज गीतको रेकर्डिङ र छायाँकन समेत सकिसकेका छन् । उनका अझै केही तीज गीत रेकर्डिङ र छायाँकनको क्रममा छन् । गतवर्ष उनका ‘सोचेझै जिन्दगी रैन‘छ’, ‘लरिलरिलै’ जस्ता तीज गीत निकै रुचाईएका थिए । यसवर्ष ती गीतको ‘भाग २’ ल्याउँदैछन् उनी । ‘माहोल विगतको जस्तै भएकाले यसवर्ष गतवर्षकै केही गीतको ‘भाग २’ ल्याउन लागेको हुँ । ती गीतहरु ल्याउन स्रोता एवं दर्शकहरुको पनि आग्रह थियो’ उनले भने, ‘ती बाहेक पनि समसामयिक, रमाईला एवं तीजको मौलिकतासँग जोडिएका केही गीतहरु पनि आउँदैछन् ।’ उनको पनि एउटा गीत मंगलबारमात्रै सार्वजनिक भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै गायक दुर्गेश थापा पनि तीज गीतको तयारीमा लागेका छन् । गत वर्ष तीजमा ‘बीच्चबीच्चमा २’ र ‘बीच्चबीच्चमा ३’ गीत ल्याएका उनी यसवर्ष ‘बीच्चबीच्चमा ४ र ५’ ल्याउने तयारी गरिरहेका छन् । ती गीतको रेकर्डिङ सकिसकेका छन् । त्यस्तै गतवर्षकै ‘एउटा फोटो खिच’ बोलको गीतको फिमेल भर्सन ल्याउने तयारीमा छन् उनी । सो गीतको रेकर्डिङ समेत भैसकेको उनले सुनाए । एउटा फोटो खिचको फिमेल भर्सन समीक्षा अधिकारी र अस्मिता अधिकारीले गाईसकेका छन् । अब गीतको भिडियो छायाँकनको तयारीमा उनी जुटेका छन् ।

०००
म्युजिक भिडियो निर्देशक प्रकाश भट्टलाई हिजोआज फुर्सद मिलेको छैन् । निषेधाज्ञा खुकुलो भएसँगै उनले ९ वटा तीज गीतको निर्देशन गरिसकेका छन् । ‘आज १० औं तीज गीत निर्देशन गर्दैछु’– छायाँकनकै काममा रहेका भट्टले टेलिफोनमा भने । उनीसँग निर्देशन गर्नुपर्ने तीज गीतको केही सेड्यूल पनि छन् । तीज गीतको भिडियोमा ब्यस्त मोडलमध्येमा पर्छिन् करिष्मा ढकाल । उनले यसवर्ष दुईवटा तीज गीतको भिडियोमा काम गरिसकेकी छिन् । झण्डै एक दर्जन तीज गीतको भिडियोमा काम गर्ने तयारी रहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु तीज गीतको काममा ब्यस्त बनिरहेका छन् ।

यद्यपी कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो काम गर्ने उत्साह भने नभएको कलाकारहरु बताउँछन् । अधिकांश गायक, गायिकाहरु स्रोता दर्शकको आग्रह र निरन्तरताकै लागि तीजको तयारीमा जुटेको बताउँछन् ।

तपाईको प्रतिक्रिया