पत्रकारद्धारा लुम्बिनी प्रदेश सरकारको सञ्चार विधेयक सच्चाउन माग

तानसेन । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ताका लागि पठाएको संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनर्लेखन गर्न पत्रकारले माग गरेका छन् ।

लुम्बिनी प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरूले आ आफ्नो जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर विधेयक पुनर्लेखनको माग गरेका हुन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले पनि प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। शाखाका अध्यक्ष रेखिराम रानाको नेतृत्वमा गएको पत्रकारको टोलीले प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो।

विधेयकप्रति महासंघले यसअघि नै गम्भीर ध्यानाकर्षण भएको जनाइसकेको छ।

विधेयक प्रदेश भरिका सञ्चार माध्यमहरूको हकहितको रक्षा गर्ने र नियमन गर्ने हुनुपर्ने अध्यक्ष रानाले बताए ।तर विधेयकमा सञ्चार माध्यम र संचारकर्मीहरूलाई दण्ड जरिवनादेखि जेल सजायसम्मको प्रवाधन राखिएकोले त्यसलाई  सच्चाउनुपर्ने रानाको भनाइ छ ।

संचार माध्यम र पत्रकारहरूमाथि नियमन गर्ने भन्दा नियन्त्रण गर्ने सोचबाट विधेयक आएकोले तत्काल पुनर्लेखन गर्नुपर्ने रानाले बताए। सरोकारवाला पक्षसँगको छलफलपछि मात्रै विधेयक ल्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । यही अवस्थामा विधेयक स्वीकृत भए थप आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer