तानसेनको ‘सन्तोष चलचित्र मन्दिर’ सधैका लागि बन्द हुने अवस्थामा !

पाल्पा – कोरोना महामारीबीच देशका धेरै जिल्लामा हलहरु बन्द भईरहेका छन् । यसैबीच पाल्पामा संचालनमा रहेको एकमात्र चलचित्र हल अब सधैका लागि बन्द हुने भएको छ ।

चार दशकको इतिहास बोकेको पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ कोरोना महामारीकैबीच सधैका लागि बन्द हुने अवस्थामा पुगेको छ । वि.सं २०३८ सालमा यस हलको स्थापना भएको थियो ।

चलचित्र हललाई अब संचालनमा ल्याउने शंभावना नरहेको हल संचालक बताउँछन् । केही वर्षयता हलमा दर्शक आउने क्रम निकै घटेको थियो । सामान्य अवस्थामा पनि दर्शक नहुँदा कर्मचारीलाई तलब दिन र विद्युत महशुल बुझाउन समेत गाह्रो थियो । संचालक सन्तोष लिगलले नयाँधारसंग भने, ‘कोरोना महामारीका कारण डेढ वर्षदेखि हल ठप्प छ । अब खुलेपनि चलाउन गाह्रो हुने अवस्था छ । के गर्ने सरसल्लाह गर्दैर्छौ ।’

जानकारी अनुसार हलले नेपाल चलचित्र संघ र चलचित्र विकास बोर्डमा पत्र पठाएर सधैका लागि बन्द गरिएको जानकारी गराएको छ ।  सो कारण अब हल संचालनमा आउने सम्भावना न्यून छ ।

हलमा स्पेशल र बाल्कोनी गरी ३४५ सिट क्षमता छ । एक दशक अगाडिसम्म चलचित्र हेर्न हलमा गाउँ–गाउँबाट दर्शकको बाक्लो भीड लाग्दथ्यो । टिकट नपाएर दर्शकहरु फर्किनुपर्ने वाध्यता समेत हुन्थ्यो । तर, पछिल्ला केही वर्षयता दर्शकको संख्या घट्दै गएको थियो । दर्शक घटदै गएसँगै हल संकटमा परेको थियो । कोरोना हुनुअगाडि हलमा १०/१५ जना मात्र दर्शक आउँथे ।

यस हलमा पछिल्लो समय चलचित्र ‘आमा’ प्रदर्शन भएको थियो । २०७६ चैतमा लकडाउन भएसँगै चलचित्र हल बन्द भएको थियो । जिल्लामा रहेका केही हाइभिजन हल दर्शकको अभावमा यसअघि नै बन्द भईसकेका थिए ।

तस्वीर सौजन्य : मनिष अर्याल

तपाईको प्रतिक्रिया