स्याङ्जाका दुई पुरुषसहित ८० जनामा डेल्टा भाइरस पुष्टि

काठमाण्डौं । स्याङ्जाका दुई जना पुरुषसहित ८० जनामा कोरोनाको नयाँ भेरिएन्ट देखा परेको छ ।

कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुषमा डेल्टा भेरिएन्ट देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जामा २ जनामा नयाँ भेरिएन्ट पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

दुवै जनाको जेठको अन्तिम साता नमुना संकलन गरि पठाईएको थियो । नयाँ भेरिएन्ट देखिएर संक्रमण पुष्टि भएको नतिजा आउदाँ भने संक्रमित दुवैजना निको भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए ।

अहिले गाउँपालिका भित्र संक्रमण न्यूनिकरणका लागि उच्च सतर्कता अपनाइएको पनि अध्यक्ष थापाले बताए । जनस्वास्थ्य प्रयोगशाला पोखराले जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाएको थियो ।

जसमध्य सबै जनामा डेल्टा बि.१.६१७.२ (नयाँ भेरिएन्ट) पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । नयाँ भेरिन्ट देखिएकामा गण्डकी प्रदेशमा स्याङ्जाका २ पुरुषसंगै गोरखाका ३ जना महिला रहेका छन् ।

नेपालमा प्रयोगशाला नभएको कारण देशभरीबाट १३० वटा नमुना संकलन गरेर विदेश पठाइएकोमा ८० जनामा डेल्टा भाइरस पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशकी निमित्त निर्देशक सपना सुवेदीले बताईन् ।

तपाईको प्रतिक्रिया