काठमाडौं। सरकारले कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकलाई लगाउने तयारी गरेको छ ।

सोमबार बसेको स्वास्थ्य तथा जनसंख्याको मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको छ ।

एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

अमेरिकी सरकारले सायोग स्वरुप दिएको १५ लाख डोज खोप १३ लाख जनसंख्या रहेका ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकका लागि लगाउने तयारी भएको डा.पौडेलले बताए ।

यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकलाई पनि दिईने निर्णय भएको छ । हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई पनि जोन्सनको खोप दिने निर्णय भएको उनले बताए ।

नेपालमा बसोबास गरिरहेका शरणार्थीहरुको संख्या करिब २५ हजार रहेको छ। यस्तै यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पनि जोन्सनको खोप दिइने छ ।

अमेरिकाबाट सोमबार मात्रै १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेसँगै सरकारले यो कम्पनीको खोप लगाउने प्राथमिकता निर्धारण गरेको हो ।

तपाईको प्रतिक्रिया