१ करोड आम्दानी गर्ने

सबैलाई लोभ्याउने ; पाल्पाको मैनादीमा दुई सय रोपनीमा अकबरे खुर्सानी खेती

पाल्पा । पाल्पाको मैनादीमा दुई सय रोपनीमा व्यावसायिक रुपमा अकबरे खुर्सानी खेतीले सबैलाई आकर्षक बनाएको छ । परम्परागत मकै तथा धान खेती बाँदरबाट जोगाउन समस्या भएपछि खुर्सानी खेतीतर्फ आकर्षिक भएको संचालक जनक आचार्यको भनाई छ । मकै तथा धान भन्दा खुर्सानीको मूल्य राम्रो रहेको छ ।

रिब्दीकोट गाउँपालिका ७ मैदानादीस्थित त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फर्मका लागि वार्षिक प्रतिरोपनी ६ सय रुपैयाँमा दुई रोपनी जमिनमा करार सम्झौतामा व्याबसायिक रुपमा खुर्सानी खेतीले बाँझो जमिन नै हराबरा बनेको हो । जनक आचार्य र कृष्ण भट्टराई फर्मका सञ्चाक हुन ।आचार्य प्रभाव माविका प्रध्यानाध्यापक हुन । भटटराई अधिकाँश समयमा कृषिमै रमाउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइको आर्थिक तथा प्राविधिक सहयोगमा आचार्यले बाँझो जमिनलाई उत्पादनशिल बनाउन थालेको हो । सो जमिन आचार्यले ५ वर्षका लागि प्रयोगमा ल्याउने गरी जग्गाधनीसँग सम्झौता गरेका हुन ।

छ परिबारको खेत र १५ परिबारको खेतबारीमा खुर्सानी खेती हुँदै आएको छ । चैत्र, बैशाखमा रोपिएका खुर्सानीका बोटहरु अहिले फलिएरहेको छ । झण्डै एक लाख ३५ हजार खुर्सानीबाट १ करोड आम्दानी गर्ने योजना छ । मल्चिग प्रविधिको प्रयोग गरी उत्पादन गर्दा कामदार कम र उत्पादन बढी हुने आचार्यको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाइ पाल्पाका प्रमुख दिपक भट्टराईका अनुसार यस कार्यालयको चक्लाबन्दी कार्यक्रम अन्तरगत त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फर्मका लागि ९ लाख ५४ हजार आर्थिक सहयोग परेको बताए । परियोजनाले आर्थिक, प्राविधिक लगायतको सहयोगका कारण यो फर्मबाट उत्पादित खर्सानी खेती सबैलाई लोभ्याउने भएको प्रमुख भट्टराईले बताए ।

रिब्दीकोट गाउँपालिकाकी उपप्रमुख लक्ष्मी खनालले जनक आचार्यले सञ्चालित फर्मले खुर्सानी खेतीबाट लाखौं आम्दानी गर्न सकिने नमुना बनेको बताइन । गाउँपालिकाभित्रका बेरोजगार युबा तथा किसानले यो फर्मको अध्ययन अवलोकन गरी कृषि व्यवसायबाट भविष्य निर्माण गर्न सकिने खनालेका भनाई छ ।

तपाईको प्रतिक्रिया