काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमणदरमा वृद्धि भएको जनाएको छ ।

पछिल्लो एक सातायता संक्रमण दर फेरि उकालो लागेको भन्दै मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयले अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ ।

निषेधाज्ञा खुकुलो भएसंगै सार्वजनिक सवारी संचालन भएको हुँदा संक्रमण बढेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय स्वास्थय मापदण्डको पालनामा समेत नागरिकले चासो नदिएको हुँदा संक्रमण बढेको पनि मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा अहिले पनि १० जिल्लामा ५०० बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ ।

मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।

 

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ’ मन्त्रालयले भनेको छ ।

विज्ञप्ति हेर्नुहाेस्ः

तपाईको प्रतिक्रिया