तीन दिनसम्म मनसुन सक्रिय हुने, सतर्कता अपनाउन सुझाव

काठमाडौँ । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेका छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गङ्गा नगरकोटीले दिएको जानकारी अनुसार सो प्रणालीका कारण सोमबार सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावन रहेको बताए ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै मङ्गलबार राती प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।

बुधबार देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई केही स्थानमा भारी ÷धेरै भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया