
तानसेन। सिद्धार्थ राजमार्गमा अन्तरगत पाल्पा बुटवल सडकखण्डको चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
बुधबार दिउसो पाल्पादेखि बुटवलतर्फ जादै गरेको लु २ ख ४४९९ नं. को खाली ट्रक अचानक सडकबाट खस्दा दुई गम्भीरसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुपन्देहीको बुटवल उपमहानगर पालिका १३ का ३० वर्षीय धीरज साह र नवलपरासी प्रतापपुर गाउँपालिका ९ का ३८ वर्षीय रामराज च्यामर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
यस्तै ट्रक चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका ९ का ४३ वर्षीय माहन भट्टराई पनि घाइते भएका छन्।
तीनैजना घाइतेको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक सडकदेखि ८० मिटर तल खसेको र दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।