पाल्पामा ट्राफिक कारबाहीबाट ८८ लाखबढी राजश्व संकलन

तानसेन । पाल्पामा ट्राफिक कारबाहीबाट ८८ लाखबढी राजश्व संकलन भएको छ।

गत आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट ८८ लाख ५९ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

सो समयावधिमा सवारी चेकजाच तथा ट्राफिक नियमको उल्लघन गरेका १५ हजार २१ सवारी कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै तीन हजार ९८४ टिपरसहित ट्रक र मिनी ट्रक रहेका छन् ।

यस्तै, चार हजार ८१८ मोटरसाइकल, तीन हजार ९०५ कार, भ्यान र जीप, एक हजार ३५६ बस तथा मिनी बस र ९५८ ट्याक्टरलाई कारबाही गरी जरिवाना असुल गरिएको ट्राफिक प्रमुख ज्ञवालीले बताए ।

आर्थिक वर्ष २०७६।०७७ मा ८३ लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको थियो। १३ हजार ७८२ सवारी साधन कारबाहीमा परेका थिए।

यो वर्ष निषेधाज्ञाले थोरै सवारी चल्दा पनि ट्राफिक नियमको पालना गर्नेहरु कम भएका कारण कारबाही र राजश्वमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया