
काठमाडौं । मनाङमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । मनाङमा चार हजार १९८ जना नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेका छन् ।
मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङमा खोप लगाउन योग्य नागरिक ४ हजार ५०० रहेका छन् ।
अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको आचार्यले बताए ।
जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था स्वास्थ्य कार्यालयले मिलाएको छ ।
गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको मनाङ अहिले ७७ जिल्लामै पहिलो पटक सबै नागरिकले खोप लगाने जिल्ला भएको छ ।