विश्वभर नै फेरी फैलियो कोरोना!

काठमाडौं । विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि उच्च गतिमा बढ्न थालेको छ ।

केही समय अघिसम्म संक्रमण दर निकै तल झरेको अमेरिकामा विश्वमै सबैभन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना विरुद्धको खोप सहजै उपलब्ध भए पनि खोप लगाउनेहरुको संख्या भने न्युन छ । अमेरिकीहरुले खोप नलगाएकाले कतिपय राज्यले खोप लगाउनेलाई १ देखि २ सय डलर दिने आकर्षक कार्यक्रम समेत ल्याएका छन् ।

एसियाली र अफ्रिकी गरिब मुलुकहरुमा भने खोपलाई नागरिकहरु संघर्ष नै गरिरहेका छन् । संक्रमण दर घटेका युरोपेली र एसियाली मुलुकमा पनि संक्रमण दर बढिरहेको छ ।

यस्तै भारतमा पनि पछिल्लो २४ घन्टामा ४२ हजारभन्दा बढि नयाँ संक्रमित थपिएका छन् । यसै गरी ब्राजिलमा एकै दिनमा संक्रमित हुनेको संख्या ४० हजारभन्दा बढी छ ।

यसै गरी इरानमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने इन्डोनेसियामा पनि एकै दिनमा संक्रमित हुनेको संख्या ३५ हजारभन्दा बढी छ ।

बेलायत र फ्रान्समा पनि पछिल्लो २४ घन्टामा मात्रै २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । युरोपेली र अमेरिकी मुलुकहरुमा संक्रमणको चौथो लहर शुरु भएको संकेत देखिएको छ भने एसियाली मुलुकहरुमा तेस्रो लहरको खतरा बढेको छ ।

यस्तै नेपालमा पनि पछिल्लो २४ घण्टामा सोह्र हजार २९८ जनाको पीसीआर र एन्टीजेन विधिबाट गरिएको नमूना परीक्षणमा चार हजार १०७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३४६४ रहेको छ । यसरी दैनिक संक्रमित थपिदै जादाँ यूरोप र अमेरिकामा कोरोनाको चौथो लहर तथा नेपालमा पनि तेस्रो तहरको सुरुवात हुन सक्ने चेतावनी स्वास्थ्य विज्ञहरुले दिएका छन् ।

तपाईको प्रतिक्रिया