तानसेन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँएको छ।

नेवार समुदायले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्व पाल्पामा भने सबै जातजातिले महत्वका साथ मनाउने गरेका छन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रामा यसवर्ष भने,कोरोना महामारीका कारण औपचारिकतामा मात्र सिमित भएको छ।

देशभर नै संक्रमण जोखिमको कारण संस्कृति जोगाउनका लागि घर परिवार मात्र सहभागी भएर जात्रा निकालेका छन् ।

गाईजात्रामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर मनाउने प्रचलन रहेको छ । तर यसवर्ष भने, घर परिवारले मात्र आफ्नै टोलभित्र जात्रा निकालेर यो पर्व मनाएका छन् ।

पाल्पामा स्थानीय प्रशासनले जात्रा लगायतका कार्यमा जमघट नहुन आग्रह गरेपछि स्थानीयले पनि सोही अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर जात्रामा सहभागी भएकाे तानसेन ३ टक्सारका राेमीश सूवालले बताए  ।

विगतका वर्षहरुमा गाईजात्रामा बस्सा, तहामचा र गाईलाई बजार परिक्रमा गराएर यात्रा निकाल्ने प्रचलन यसवर्ष भने त्यस्ता दृश्यहरु बजार क्षेत्रमा नदेखिएकाे नगरका व्यपारीकाे भनाइ छ ।

गाईजात्रा निकाल्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेका कारण सबै समुदायले गाईजात्रा पर्व मनाउदै आएका छन् ।

पाल्पामा जनैपूर्णिमाको दिन बेलुका चुईकी फिराइ गरी जात्रा सुरु भएको संकेत गराएपछि सुरु हुने जात्रा भाद्र कृष्ण नवमीका दिन नेपाल अग्रेज युद्धको सम्झनामा श्री रणउजेश्वरी भगवतीको सिन्दुर यात्रा पश्चात सकिने गर्दछ ।

तपाईको प्रतिक्रिया