निर्वाचन आयोगले दियाे दुवै दललाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले बुधबार दुवै दललाई मान्यता दिएकाे छ । आयोगको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएकाे हाे ।

मान्यता दिएसंगै आयोगले दुवै दललाई प्रमाणपत्र समेत दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान रहे।

नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित हिजो बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला मात्र आज सनाखत हुन सकेन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरे । यस्तै पाल्पाका सांसद सोमप्रसाद पाण्डेयसंगै, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका छन ।

नेकपा (एमाले)बाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक पर्दथ्यो ।

पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले बुधबार नै दलको मान्यता प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया