जनगायक टुहुरेको निधन !

काठमाडौं । वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचार गराइरहेका उनको बिहिबार अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

टुहुरे भदौ १ गते मंगलबार कलंकीस्थित निवासमा लडेपछि उनलाई बयोधा पु¥याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मस्तिष्कघात भएको बताएका थिए ।

जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनी प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक समेत हुन् । खास नाम जुठबहादुर खड्गी भए पनि नेपाली रहेका उनले  जेबी टुहुरे नामले चर्चा कमाएका थिए ।

‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने उनको निधनले नेपाली साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

वि.स. २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित रहेकाे छ । उनका पत्नी सत्यदेवी, एक छोरा, चार छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer