
तानसेन । निरन्तरको वर्षासंगै ठाउँठाउँमा पहिरो खसेर सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध भएको छ ।
पहिरोका कारण सिद्धार्थ राजमार्गको राम्दीदेखि चिडियाखोलासम्म आधा दर्जनबढी स्थानमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
पहिरोले उक्त राजमार्गमा पर्ने बगनासकाली गाउँपालिका ४ को सेरा, रम्भा गाउँपालिका ३ को सीता पहाड, तिनाउ ३ को सिसुवा, दोभानको पौठेडाँडा, सिद्धबाबा मन्दिर क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
सोही राजमार्गको पर्ने तिनाउ ५ को केराबारी, झुम्सा, पानीमिल, गिट्टीखानी लगायतका स्थानमा पहिरो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाका अन्य सडकहरु पनि पहिरोले अवरुद्ध भएका छन् । तानसेन रिडी सडकखण्डको सम्मोबारी तथा आर्यभञ्याङ्ग रामपुर सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
निरन्तको वर्षका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । अहिले पनि निरन्तर रुपमा पानी परेका कारण सडक सुचारु गर्न समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
पहिरोले जिल्लाभरकै सडक अवरुद्ध रहेको हुँदा अत्यावश्यक काम नपरी यात्रा नर्गन प्रहरी प्रशासनले अनुरोध समेत गरेको छ । यता वर्षाका कारण घर भत्किादा आज बिहान तानसेन ५ की एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार तानसेन नगरपालिका वडा नं. ५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।
आइतबार बिहान करिब ४ बजे ढुंगा माटोले पुरिएको अवस्थामा उनको उद्धार गरि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएकोमा डाक्टरले उनलाई मृत्यु घोषणा गरेको थियो ।