पाल्पा । तानसेन नगरपालिकाको मदनपोखरामा १३ औँ अन्तराष्टिय गिद्ध सचेतना दिवसका अवसरमा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
अधेरी छरछरे सामुदायिक वन र नेपाल पन्छी संरक्षण संघको आयोजनामा तानसेन नगरपालिका ९ मदनपोखरामा सम्पन्न कार्यक्रममा नगरप्रमुख अशोक कुमार शाहीले गिद्ध सम्वन्धि सचेतनाले वातावरण सन्तुलनमा राख्न सहयोग पुग्ने बताए ।
समाजका अघिल्लो पुस्ता र समाजका अभिभावकलाई सधै सम्मानको खाँचो रहेको उनले बताए ।
कार्यक्रममा ८४ वर्षदेखि माथिका १० जना जेष्ठ नागरिकलाई पोशिलो खानेकुरा नगरप्रमुख शाहीले हस्तान्तरण गरेपछि वृद्धहरु खुसी देखिएका थिए ।
कार्यक्रममा वन कार्यालय सहायक वन अधिकृत विधान अर्यालले गिद्ध संरक्षणका कारण बातारण नै संरक्षण हुने बताए । उनले गिद्धहरुको आहाराको अभावमा गिद्धको अभाव हुने देखिएको बताए ।
कार्यक्रममा न्यायो शितल घरका अध्यक्ष मीन प्रसाद बन्जाडेले जेष्ठ नागरिकको सम्मानका लागि न्यायो शितल घर बनाउन कार्य जारी रहेको बताए । सो भवन निर्माण भएपछि वृद्धवृद्धा अनुभव आदनप्रदानमा सहजता हुने उनले बताए ।
कार्यक्रम सामुदायिक वन कार्यालय पाल्पा हरिचन्द भूषालको अध्यक्षता, स्वागत दिनेश बस्यालले गरेका थिए ।