शनिबारसम्म वर्षाको सम्भावना, लुम्बिनीमा धेरै पानी पर्ने

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिनकुमार आर्यालले दिएको जानकारी अनुसार बिहीबार लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया