नेपाली फुटवल टोली आज ओमनसंग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । आज नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। कतारको दोहास्थित कतार विश्वविद्यालयको मैदानमा हुने खेल राति पौने १० बजे हुनेछ।

साफ च्याम्पिनयसिपको अन्तिम तयारीका लागि नेपाली टोली कतार पुगेको हो।

फिफा वरियतामा आफुभन्दा माथि रहेको टोलीसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली साफ च्याम्पिनयसिपका लागि मालदिभ्स जानेछ। नेपाल फिफा वरियतामा १ सय ६८ औँ स्थानमा छ भने ओमान ७८ औँ स्थानमा रहेको छ।

यी दुई टोलीबीच यो दोस्रो पटक मैत्रीपूर्ण खेल हुन लागेको हो। पहिला मैत्रीपूर्ण खेलमा नेपाल ८–० को फराकिलो अन्तरले हारेको थियो। नेपाल र ओमानको त्यो नै फराकिलो नतिजा हो। पछिल्लो पटक सन् २००७ मा फिफा विश्वकप छनोटमा भएको भेटमा नेपाल ओमानसँग २–० ले पराजित भएको थियो।

कतार जानुअघि नेपाली टोलीले गत भदौ १७ र २० गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो। कतारमा अभ्यासरत रहँदा नेपाली टोलीले स्थानीय अल बिदा स्पोर्टस् क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

जुन खेल नेपालले २–० ले आफ्ना पक्षमा पारेको थियो। ​ओमानसँगको खेलपछि नेपाली टोली असोज ११ गते मालदिभ्स जानेछ। साफ च्याम्पिनयनसिप मालदिभ्समा असोज १५ गतेबाट सुरु हुँदै छ।

राउन्ड रोविनका आधारमा हुने साफमा नेपाल, भारत, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्। शीर्ष दुई टोलीले असोज ३० गते फाइनल खेल्नेछ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer