तानसेन । आँगनका डिलमा ढकमक्क सयपत्री र बारीका पाटामा तोरी फुल्न थालेपछि, खेतमा धान र बारीमा कोदोको बाला लहलह झुल्न थालेपछि, अनि गाउँ टोलमा सरसफाई गरि लिपपोत गरेपछि दशैंका रौनक नै बेग्लै हुन्छ ।
आकाशमा चङ्गाहरु उड्ने, गाउँका खुला स्थानमा लिंगे र चर्के पिङ हाल्न थालेपछि दशैंको महत्व झल्किन्छ । देशका विभिन्न स्थानमा रहेका र बैदेशिक रोजगारीका लागि घर छाडेकाहरु घरमा फर्किदा परिवारसंगै समाजको खुसीमा दशैंको पद देखिन्छ । तर पछिल्लो समय यस्ता सबै कार्य इतिहास भइसकेका छन् ।
दशैं परम्परासँग जोडिएका चङ्गा, पिङ लगायतका मनोरञ्जनका माध्याम अहिले लोप भइसकेका छन् । पुराना पुस्ताले यस्ता सबै कार्य नगरि हुन्थेन, किनकी त्यो समयमा सबै कार्य मनोरञ्जनमा मात्र सीमित ठानिदैनथ्यो ।
हाम्रा हरेक पर्वहरुमा गरिने कार्य धार्मिक परम्परासँग जोडिएका कुरा मात्रै होइनन कही कतै आफैमा वैज्ञानिक रुपमा पनि जोडिएका छन् । पिङ र चङ्गासँग पनि विज्ञान जोडिएको विज्ञहरुके भनाई छ ।
चङ्गाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चङ्गा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । चङ्गा उडाउन मन्द हावाको बहाव चाहिन्छ ।
विजय र वर्चश्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेल मात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतिक हो, स्वच्छन्दको प्रतिक हो, उचाईको प्रतिक पनि हो । भनिन्छ, चंगा उडाउँदा हामी दुःख, पीर भुल्छौं ।
खुसीले आकाश छोएको महशुस गछौं । दम्भ, रिस, राग सबै भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्वकांक्षा जगाउँछ । आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ । धागोले बाधिएर लट्टाईबाट नियन्त्रण गरिने चङ्गालाई अनेकन रुपमा लिने गरिन्छ । यस्तै विभिन्न तरिकाले खेलिने पिङले पनि खुसी र उमंगलाई नै जोड्ने गर्दछ ।
मानिस खुसी भएर धर्ती छाडि हावामा रहने भएकाले खुसी र आनन्दको क्षणका लागि पिङले बेग्लै महत्व दिने गरेको जानकारहरु बताउछन् । झट्ट हेर्दा पिङ पनि मनोरञ्जनकै लागि खेलिन्छ । तर हाम्रो परम्परा अनुसार वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताले पनि धेरैलाई पिङ खेल्नका लागि प्रेरित गर्छ ।
दशैंमा हामी सामान्य दिनभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं, त्योपनि मासुजन्य परिकार, यसरी दशैंको बेला आवश्यक्ताभन्दा बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउन पिङ खेल्ने गरिएको कतिपयको तर्क छ । यो तर्क यसकारण सही लाग्छ कि, पिङमा मच्चिने क्रममा शरीरको सम्पूर्ण व्यायाम हुन्छ ।
दशैंको समयमा त्यती धेरै शारीरिक श्रम नगर्ने भएकाले हाम्रो शरीर यसैपनि शिथिल भइरहेको बेला पिङ खेल्नाले शरीर स्वास्थ् हुने हुने गर्दछ । यसरी अनेकन महत्व रहेका हाम्रा पुराना सस्कृति जोगाउन नयाँ पुस्ताले चासो नदिएको पाइएको छ ।
पुराना पुस्ताले मनोरञ्जनका रुपमा लिदै आएको यस्ता साधनको संरक्षणमा तीनै तहको सरकारले ध्यान दिएर जोगाउन पर्ने अवस्था देखिएको छ ।