काठमाडाैं। नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने भएको छ ।
ग्राण्ड फिनाले पोखरामा भव्य रुपमा सम्पन्न गर्ने निर्णय भएको आयोजकले जानाएकाे छ ।
‘दोहोरी च्याम्पियन’मा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसंग बालचन्द्र बराल र शोभा कार्कीको टीमले ग्राण्ड फिनालेमा प्रथमका लागि प्रतिस्पर्धा गर्नेछ । यी दुई टीमको प्रतिस्पर्धामा एउटा प्रथम र अर्को टीम द्धितिय हुनेछ ।
यस्तै अर्को टीम राजेन्द्र पाठक र मीना नेपाल टीमले तृतियका लागि सबिन आचार्य र रीता राउतसँग प्रतिस्पर्धा गर्नेछ । दर्शकको भोटिङको आधारमा विजेता घोषित गरिनेछ ।
‘दोहोरी च्याम्पियन’लाई लोकदोहोरी क्षेत्रकै ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यसमा प्रथम हुने टीमले २० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने १ करोड बराबरको जीवन बीमा हुनेछ ।
दोश्रो हुने टीमले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने ५० लाख बराबरको जीवन बीमा हुनेछ । त्यस्तै, तृतिय हुने टीमलाई ३ लाख र सान्त्वना हुने टीमलाई २ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
सांगीतिक संगै चलचित्र तथा हास्यव्यङग्य क्षेत्रका कलाकारहरुको उपस्थितिकामा ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ । पोखराको कहाँ फिनाले हुने भन्नेबारे केही दिनमा तय गरिने जनाइएको छ ।
नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’मा निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् ।
लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमिकामा छन् ।
शनिबार राती ८ः५० बजेबाट नेपाल टेलिभिजनमा ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको छ ।