तानसेन । रामपुर नगरपालिका वडा नं. १ मा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ५ बस्ने कर्ण बहादुर पुनको २४ वर्षीय छोरा विक्रम पुन, सोही स्थानका जुद्द बहादुर गुरुङको २४ वर्षीय छोरा मन बहादुर गुरुङ र पाल्पा, रामपुर नगरपालिका वडा नं. ५ बस्ने कमल राज बंशीको २० वर्षीय छोरा गौरव बंशी रहेको प्रहरीले जनाएको छ ।

यस्तै अभद्र व्यवहार गर्ने अन्य चार जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । फरार हुनेहरुमा रुपन्देही देवदह नगरपालिका ५ बस्ने ३१ वर्षीय सरोज मगर, सोही देवदह ७ का २१ वर्षीय जनक मल्ल, रामपुर ५ का राम बहादुर रानाको छोरा २१ वर्षीय आवेश राना र सोही ठाउँ बस्ने २० वर्षीय अप्सन बंशी रहेको सूचना अधिकारी त्वातीले बताए ।

कात्तिक ६ गते शनिबार बेलुका ६ बजे फुर्केचौर स्थित शंकर निमाविको प्रांगणमा स्थानीय ग्रामीण सुधार युवा क्लवले आयोजना गरेको भलिबल सँगै भएको सांस्कृतिक कार्यक्रममा उनीहरुले होहल्ला गरी रामपुर नगरपालिका ५ बस्ने ३४ वर्षीय लक्ष्मण मल्ललाई वियरको बोतलले प्रहार गरी घाईते बनाएका थिए ।

सोही आधारमा तीनलाई पक्राउ गरिएको र फरार हुनेहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया